जनता टाइम्स

४ माघ २०८२, आईतवार ११:१५

कौशलटार–लाकुरी भञ्ज्याङ्ग सडक निर्माण सुरु, वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाद्वारा उद्घाटन


भक्तपुर, माघ ४ । सूर्यविनायक नगरपालिका–१ स्थित कौशलटार, बिरुवा, पातलेटार, अनन्तलिङ्गेश्वर हुँदै लाकुरी भञ्ज्याङ्ग जोड्ने सडक निर्माणको काम सुरु भएको छ ।

सडक निर्माणकाे लागि वाग्मती प्रदेश सरकारले ४ करोड ५० लाख रुपैँया बजेट विनियोजन गरेकाे छ । साे सडककाे आज औपचारिक रूपमा शिलान्यास गरिएको हो ।

सडक निर्माण कार्यको शिलान्यास वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको हो । शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री मगरले सडक पूर्वाधार विकासले स्थानीय जनताको दैनिक जीवन सहज बनाउने र साे क्षेत्रको समग्र विकासमा थप टेवा पुर्‍याउने बताउनुभयो । उहाँले समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

सडक निर्माण सम्पन्न भएपछि कौशलटार, बिरुवा, पातलेटार, अनन्तलिङ्गेश्वर र लाकुरी भञ्ज्याङ्ग क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुने, यातायात पहुँच विस्तार हुने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको सडक निर्माण सुरु भएकामा खुशी व्यक्त गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न आग्रह गरेका छन् ।