जनता टाइम्स

४ माघ २०८२, आईतवार १३:५०

पार्टीकाे विश्वास र दोलखालीका भरोसाको अनुहार पार्वत गुरुङ चुनावी मैदानमा 


दोलखा, माघ ४ ।आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले) ले अनुभवी, जनविश्वास प्राप्त र विकासमुखी नेताका रूपमा परिचित पार्वत गुरुङलाई पुनः चुनावी मैदानमा उतारेको छ । दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आउनुभएका गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ ।

पार्टी संगठन कमजोर पर्दा अगाडि उभिने, नेतृत्व संकटमा परेका बेला काँध थाप्ने र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा गुरुङ दोलखामा स्थापित नाम हो । स्थानीय समस्यालाई केन्द्रसम्म पुर्‍याउने र भूगोलअनुसार विकासको खाका कोर्ने उहाँको कार्यशैलीले नै दोलखामा निरन्तर जनसमर्थन प्राप्त गर्दै आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

दोलखाको उत्तरी भेग गौरीशंकर गाउँपालिका–२, सुरीमा वि.सं. २०२५ सालमा जन्मिनुभएका गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम आन्दोलनमा सक्रिय हुनुभएको हो । जिल्ला तहमा संगठन निर्माण गर्दै एमाले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका उहाँ पार्टी पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज हुँदै केन्द्रीय नेतृत्वमा पुग्नुभएको छ । हाल उहाँ पार्टी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारीमा हुनुहुन्छ ।

शैक्षिक रूपमा स्नातक तहसम्म अध्ययन गर्नुभएका गुरुङ २०७० सालमा दोलखा–१ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले ऐतिहासिक मतान्तरका साथ विजय हासिल गर्नुभएको थियो ।
उक्त निर्वाचनमा गुरुङले ५५ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय ३१ मत मात्र प्राप्त गर्नुभएको थियो । यो मतान्तरलाई दोलखामा एमालेको बलियो जनाधारको स्पष्ट सङ्केतका रूपमा लिइन्छ । तथापि त्यति बेला एमालेको तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन थियो ।

संघीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएका गुरुङले नीति निर्माणदेखि सेवा प्रवाहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुभएको भन्दै पार्टीभित्र र बाहिर सकारात्मक मूल्याङ्कन हुने गरेको छ । विशेष गरी सञ्चार र सूचना प्रविधिको विस्तार तथा सामाजिक क्षेत्रका नीतिगत सुधारमा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।

यस पटकको निर्वाचनमा एमालेले स्थिरता, विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएको छ । दोलखाको सडक, विद्युत्, सञ्चार, पर्यटन र रोजगारीका सवाललाई केन्द्रमा राखेर अघि बढ्ने रणनीतिसहित गुरुङ चुनावी मैदानमा होमिनुभएको छ । स्थानीय तहदेखि संघीय तहसम्मको अनुभव भएकाले उहाँ दोलखाको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन सक्षम नेता भएको एमालेको दाबी छ ।

पार्टी नेतृत्वले समेत गुरुङलाई दोलखामा एमालेको जित सुनिश्चित गर्ने ‘विश्वसनीय उम्मेदवार’का रूपमा अघि सारेको छ । अघिल्ला निर्वाचनका परिणाम, संगठनमाथिको पकड र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण यस पटक पनि उहाँको जितले दोलखामा विकासको गतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान अवस्थामा पार्वत गुरुङको उम्मेदवारीलाई दोलखामा एमालेको स्थिर राजनीति र दीर्घकालीन विकासको निरन्तरतासँग जोडेर हेरिएको छ । यही कारण, यस निर्वाचनलाई दोलखाली जनताले ‘अनुभव र परीक्षण भइसकेको नेतृत्व’ र ‘नयाँ चुनौतीबिचको राजनीतिक निर्णय’का रूपमा मूल्याङ्कन गर्न थालेका छन् ।