जनता टाइम्स

४ माघ २०८२, आईतवार २२:२४

आपत्–विपतमा सबैभन्दा अघि देखिने प्रदीप कटुवाल, जनसेवाकै मूल्याङ्कनस्वरूप सिन्धुली–१ बाट एमाले उम्मेदवार


सिन्धुली, माघ ४ । कतै आपत्–विपत् पर्दा सबैभन्दा पहिले देखिने राजनीतिक पात्रका रूपमा चिनिनुहुने प्रदीप कटुवाललाई नेकपा (एमाले)ले सिन्धुली क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। जनतासँगको निरन्तर साथ, सेवा र सक्रियताकै सम्मान स्वरूप पार्टीले उहाँलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अघि सारेको हो।

गत वर्ष रोशी र सुनकोशी नदीमा आएको बाढीले बिपी राजमार्ग क्षतविक्षत बनेपछि दशैँको मुखमा घर फर्किन लागेका यात्रुहरू बाटोमै रोकिएका थिए। त्यतिबेला सडक खुलाउने काम सुरु भएको पहिलो दिनदेखि यातायात पूर्ण रूपमा सञ्चालन नहुँदासम्म कटुवाल स्वयं खोलाकै किनारमा बास बसेर, खाली खुट्टै रोशी र सुनकोशी किनार हुँदै खटिनुभएको थियो। जोखिम र असहजताका बीच पनि उहाँ जनताको समस्यालाई प्राथमिकतामा राख्दै निरन्तर सक्रिय रहनुभएको स्थानीयवासी स्मरण गर्छन्।

सिन्धुलीमा कोही बिरामी परे, कतै अप्ठ्यारो आइपरे-समाधानका लागि सबैभन्दा पहिले सम्झिने नाम प्रदीप कटुवाल नै हुने गरेको बताइन्छ। रातदिन जनताकै बीचमा रहेर दुःख–सुखमा साथ दिनु उहाँको राजनीतिक परिचय बनेको छ। यही जनमुखी भूमिकाको कदर गर्दै पार्टीले प्रतिनिधि सभा सदस्यको टिकट दिएको एमालेका नेताहरूको भनाइ छ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका कटुवालले आफ्नो उम्मेदवारीबारे प्रतिक्रिया दिँदै आफू सधैँ जनताकै बीचमा बसेर जनताकै समस्याको समाधानका लागि काम गर्दै आएको बताउनुभयाे । काम र इमानदारी नै आफ्नो पहिचान भएको उल्लेख गर्दै उहाँले जनताको सेवा नै आफ्नो राजनीतिको मूल आधार भएको स्पष्ट पार्नुभयाे ।

कटुवालले सिन्धुलीको विकास, समृद्धि र उज्यालो भविष्य निर्माणका लागि जनतासँगै हिँड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ‘सिन्धुलीका जनतासँगै हिजो पनि, जनताकै लागि आज पनि’ भन्ने सन्देशसहित उहाँले जनतासँगको भरोसा र सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको सबैभन्दा ठूलो शक्ति मानेको बताउनुभयाे ।

एमालेले सिन्धुली क्षेत्र–१ मा अनुभवी, जनसम्पर्कमा सक्रिय र आपत्–विपतमा अग्रपंक्तिमा उभिने नेतृत्वलाई अघि सारेको भन्दै कटुवालको उम्मेदवारीलाई विकास, सुशासन र जनमुखी राजनीतितर्फ केन्द्रित निर्णयका रूपमा विश्लेषण गरिएको छ।