जनता टाइम्स

५ माघ २०८२, सोमबार ०७:११

एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ताका लागि आज झापा आउँदै, नेता–कार्यकर्तासँग छलफल गर्ने


झापा, माघ ५ । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट  मनोनयन दर्ता गर्न उहाँ आज झापा आउन लाग्नु भएको हो ।

झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली आज बिहान १०ः२५ बजे भद्रपुर अवतरण गर्ने कार्यक्रम तय भएको छ। पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै उहाँले क्षेत्र नं १ का नेता–कार्यकर्तासँग भेटघाट गर्दै निर्वाचन क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिनुहुनेछ। सोही क्रममा क्षेत्र नं ३ को राजनीतिक तथा सङ्गठनात्मक अवस्थाबारे पनि भद्रपुरमै जानकारी लिने कार्यक्रम रहेको कार्कीले बताउनुभयो।

यसै गरी, क्षेत्र नं २ को निर्वाचन तयारीका विषयमा अध्यक्ष ओलीले बिर्तामोडमा जानकारी लिनुहुने कार्यक्रम छ। क्षेत्र नं ४ का नेता–कार्यकर्तासँग उहाँले सुरुङ्गामा भेटघाट गर्दै तयारीबारे छलफल गर्नुहुनेछ।

आफ्नै निर्वाचन क्षेत्र दमक–५ का नेता–कार्यकर्तासँग अध्यक्ष ओलीले दमकमै भेटघाट गर्ने कार्यक्रम रहेको छ। यस क्रममा उहाँले जेन–जी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको नेकपा एमालेले जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भोलि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।