जनता टाइम्स

५ माघ २०८२, सोमबार १८:२५

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलद्वारा पदबाट राजीनामा, ललितपुर-२ मा रास्वपाबाट उम्मेदवार बन्दै 


काठमाडौं, माघ ६ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाउँदै वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण तथा जनअपेक्षाका सन्दर्भमा अब दलीय राजनीतिमार्फत सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक ठानेर उक्त निर्णय लिएको स्पष्ट पार्नुभएको छ ।

खरेल फागुन २१ गते हुने निर्वाचनमा ललितपुर-२ मा रास्वपाबाट उम्मेदवार बन्दै हुनुहुन्छ ।राजीनामा पत्रमा मन्त्री खरेलले जेन–जी जनआन्दोलनको जग र नागरिक आकाङ्क्षाबाट अभ्युदित प्रधानमन्त्री सुशीला कार्कीकाे नेतृत्वमा रहेको वर्तमान सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी प्रदान गरेर देखाइएको विश्वास, दृढता र सदासयताप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ ।

देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश तथा पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीको कीर्तिमानी मन्त्रिपरिषद्मा सहभागी हुन पाउनु आफ्नो लागि गौरवपूर्ण र अविस्मरणीय अनुभव भएको उहाँको राजीनामापत्रमा उल्लेख छ । साथै, २०८२ फागुन २१ मा हुन गइरहेको आमनिर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीबाट भइरहेको अथक प्रयास र प्रतिबद्धतामा आफूले सानो हिस्साका रूपमा योगदान गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको पनि उहाँले जनाउनुभएको छ ।

मन्त्री खरेलले कार्कीकाे नेतृत्वमा रहेको गैरराजनीतिक नागरिक सरकारले सत्ता, शक्ति र स्वार्थभन्दा माथि उठेर इमानदारी, निष्ठा र नैतिकताको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ । साे सरकारको एक अंगका रूपमा आफ्नो चार महिने संक्षिप्त कार्यकालभरि मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने प्रयास गरेको उहाँको भनाइ छ ।

दलीय राजनीतिमा सक्रिय हुने निर्णयका कारण सरकारको स्वतन्त्र पहिचानमा कुनै आँच नआओस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिने निष्कर्षमा पुगेको स्पष्ट पार्दै उहाँले राजीनामा स्वीकार गरिदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गर्नुभएको छ । राजीनामापछि पनि आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन तथा मानव गरिमाको उन्नयनमा समर्पित रहने अटल प्रतिबद्धता मन्त्री खरेलले व्यक्त गर्नुभएको छ ।