जनता टाइम्स

६ माघ २०८२, मंगलवार १८:२२

रामेछापमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १७ उम्मेदवारको मनोनयन दर्ता


रामेछाप, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेकपा एमालेका तर्फबाट माधवप्रसाद ढुङ्गेल, नेपाली कांग्रेसका रामचन्द्र खड्का, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. कृष्णहरि बुढाथोकीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयपत्र दर्ता गराउनुभएको हो।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट केसरी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुन बहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङी मगर, नेशनल रिपब्लिक पार्टीबाटयाम बहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट बिरेन्द्र श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष घिमिरे र आम जनता पार्टीबाट पदम बहादुर तामाङ उम्मेदवार रहनुभएको छ।  मंगोल नेशनल अर्गनाइजेसनबाट बिनोद घिसिङ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट यमुन बहादुर बस्नेत उम्मेदवार रहनुभएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबुकाजी खड्का र दीप बहादुर योञ्जनले पनि मनोनयन दर्ता गराउनुभएको छ।

मनोनयन दर्ता गर्नुअघि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले बाजागाजासहित बजार परिक्रमा गरेका थिए। मनोनयन दर्ता सकिएसँगै रामेछापमा चुनावी माहोल थप तातेको छ।