जनता टाइम्स

६ माघ २०८२, मंगलवार २०:३२

देश जलाउनेहरुबाट जोगाउनु छः अध्यक्ष ओली


काठमाडौं, पुस ६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउने र भ्रम फैलाउने तत्त्वबाट मुलुक जोगाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।

मंगलबार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले देशमा अशान्ति फैलाउने प्रयास भइरहेकाले सचेत रहनुपर्ने धारणा राख्नुभयो। उहाँले अहिले ‘देश जलाउने’ प्रवृत्तिका व्यक्ति तथा समूह सक्रिय रहेको दाबी गर्नुभयो।

अध्यक्ष ओलीले देश जलाउनेहरूले भ्रम फैलाइरहेको र त्यसको प्रभाव नयाँ पुस्तामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिले देशमा आगो लगाउनेहरू जागिरहेका छन्, अघि बढिरहेका छन्, यिनले भ्रम पारिरहेका छन्, नयाँ पिँढीमा अलिकति भ्रम छ।’

केहीले ठुलो भीड देखिएको दाबी गरिरहेको सन्दर्भमा अध्यक्ष ओलीले आफूले त्यस्तो अवस्था नदेखेको स्पष्ट पार्नुभयो। ‘भीड देखियो भन्नुभयो, मैले त त्यस्तो देखेको छैन, केही मान्छे जम्मा भएका होलान्,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले आगजनी, लोकतन्त्र कमजोर पार्ने र संविधान मिच्ने गतिविधि देशका लागि खतरनाक भएको उल्लेख गर्दै यस्ता कार्यबाट मुलुकलाई जोगाउनुपर्नेमा जोड दिनुभयो। ‘आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरूबाट, कार्यालय जलाउनेहरूबाट, व्यक्तिका घर जलाउनेहरूबाट, सरकारी कार्यालय जलाउनेहरूबाट, नगरपालिका चलाउनेहरूबाट देश बचाउनुपर्नेछ,’ उहाँको भनाइ थियो।

देशलाई यस्ता सङ्कटबाट जोगाउन अनुभवी र दृढ नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिम्मेवार नेतृत्वमार्फत नै मुलुक सुरक्षित रहने दाबी गर्नुभयो।

उहाँले आजै आफ्नाे जलेकाे निवास निरीक्षण गर्दै अपराधीलाई कारबाही गर्ने दिन आउने बताउनुभयाे ।