जनता टाइम्स

६ माघ २०८२, मंगलवार २१:३७

‘देश जोगाउने जिम्मेवारी एमालेको काँधमा छ’ : माधव ढुङ्गेल


रामेछाप, माघ ६ । रामेछापबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएपछि नेकपा एमालेका नेता माधव ढुङ्गेलले देश जोगाउने जिम्मेवारी नेकपा एमालेको काँधमा रहेको बताउनुभएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रामेछापबाट मनोनयन दर्ता गरेपछि आयाेजित संक्षिप्त कार्यक्रममा नेता ढुङ्गेलले नेकपा एमालेले स्थायित्व, शान्ति, विकास, राष्ट्रिय स्वाधीनता र राष्ट्रियता, सामाजिक न्याय तथा समानताको मुद्दालाई प्राथमिकताका साथ अघि सारेको बताउनुभयो।

उहाँले आगामी निर्वाचन एमालेको जित–हारभन्दा पनि देश जोगाउने कि सिध्याउने भन्ने सवालसँग जोडिएको उल्लेख गर्नुभयो। ‘अहिले सवाल एमालेले हार्ने–जित्ने होइन, देश जोगाउने कि सिध्याउने भन्ने हो, देश जोगाउन एमाले चाहिन्छ,’ नेता ढुङ्गेलले भन्नुभयो।

सिंहदरबार, प्रतिनिधिसभा, अदालत, बालुवाटार र शीतलनिवास जोगाउन पनि एमाले आवश्यक रहेको उहाँको भनाइ छ । गत भदौ २३ गते भएको घटनालाई स्मरण गर्दै उहाँले सुरुमा युवाले उठाएका सुशासन र स्वतन्त्रताका मुद्दा सकारात्मक भए पनि पछि आन्दोलन कब्जा गरी वितण्डा मच्चाइँदा १९ जनाको ज्यान गएको दाबी गर्नुभयो। त्यसैको आडमा भदौ २४ गते देश जलाइएको उहाँले बताउनुभयाे ।

इतिहास जलाउने, हतियार लुट्ने र जेलबाट कैदी भगाउने कार्यमा संलग्नलाई कानुनको कठघरामा ल्याउनुपर्ने उल्लेख गर्दै नेता ढुङ्गेलले त्यसको अगुवाइ नेकपा एमालेले गर्ने स्पष्ट पार्नुभयो। सबै एजेन्डाको नायक पार्टी नेकपा एमाले भएको दाबी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को एजेन्डा स्थापित गर्न एमाले नेतृत्वमा पुग्नुपर्ने र त्यसका लागि मतदाताले एमालेलाई मतदान गर्नुपर्ने आग्रह गर्नुभयो।

कार्यक्रममा एमालेका समानुपातिक तर्फका उम्मेदवार राजकुमार श्रेष्ठ, नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, प्रदेश कमिटी सदस्य रत्न गाैतम लगायतले बाेल्नु भएकाे थियाे ।