जनता टाइम्स

९ माघ २०८२, शुक्रबार १३:२०

रामेछापमा खानेपानी सङ्कट कायमै, स्थानीयलाई खानेपानीको जोहोकै चिन्ता  


रामेछाप, माघ ९ । सुक्खाग्रस्त जिल्लाका रूपमा परिचित रामेछापमा खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन। खानेपानीको अभावकै कारण कतिपय गाउँहरू रित्तिँदै गएको जिल्लामा गाउँमा बसोबास गर्ने स्थानीयको प्रमुख माग अहिले पनि खानेपानी नै बनेको छ।

वातावरणीय प्रभावका कारण गाउँ–गाउँका साना खानेपानीको मूलहरू सुक्दै गएपछि स्थानीय वैकल्पिक स्रोतको खोजीमा छन्। अहिले अधिकांश गाउँमा खोला तथा नदीको पानी लिफ्ट गरेर वा टाढाका मुहानबाट पानी ल्याउनु बाहेक अन्य विकल्प छैन। तर यस्ता योजना सामान्य खर्चले सम्भव नहुने भएकाले स्थानीयले गाउँमा पानी झार्न ठुलो संघर्ष गर्नुपरेको छ।

रामेछाप नगरपालिका–३ साँघुटारस्थित थाक्ले गाउँमा पछिल्लो समय खानेपानी कै विषयमा बढी छलफल हुन थालेको छ। गाउँमा पानी वितरण गर्दै आएको पुरानो ट्याङ्की चुहिन थालेपछि नयाँ ट्याङ्की कसरी निर्माण गर्ने भन्ने चिन्ताले स्थानीयलाई सताएको छ।

स्थानीय धनबहादुर खड्काका अनुसार २० हजार लिटर क्षमताको पुरानो ट्याङ्की कमजोर भएसँगै करिब २५० उपभोक्ता खानेपानी सङ्कटमा परेका छन्। ‘३० देखि ५० हजार लिटर क्षमताको आरसिसी ट्याङ्की निर्माण गर्न सकिए उपभोक्तालाई ठुलो राहत मिल्ने थियो,’ उहाँले भन्नुभयो।

थाक्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद ढकालले २०५२ सालदेखि उक्त खानेपानी योजनाका लागि राज्यबाट कुनै ठोस सहयोग नआएको बताउनुभयो। ‘बिचमा वडाको बजेटबाट मर्मतका लागि २ लाख रुपैयाँ प्राप्त भएको थियो, त्यसबाहेक अन्यत्रबाट सहयोग आएको छैन,’ उहाँले भन्नुभयो।

उपभोक्ताले आफैँ श्रम र स्रोत जुटाएर खानेपानी सञ्चालन गर्दै आए पनि अहिले ट्याङ्की नै बिग्रिएकाले समस्या गम्भीर बनेको अध्यक्ष ढकालको भनाइ छ। ‘नयाँ ट्याङ्की निर्माणका लागि सहयोग नपाए गाउँलेले पुनः गम्भीर खानेपानी सङ्कट भोग्नुपर्ने अवस्था आउँछ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो।

स्थानीयको खानेपानीको समस्या समाधानको लागि आवश्यक प्रयत्न गर्ने वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले बताउनुभयो ।