काठमाडौं, माघ ९ । नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ताहरू प्रचण्ड–माधव नेपालको दल नेकपामा प्रवेश गरेका छन् ।
एमालेले जिल्लाबाट सिफारिस नै नभएका गाउँपालिका उपाध्यक्षलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएपछि विद्रोहमा उत्रिएको जिल्लाका सबै पदाधिकारीसहितको टोलीले अन्ततः पार्टी नै छाडेको हो ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जीवी) उपाध्यक्ष कमल न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवालसहितको टिम नेकपामा समाहित भएको घोषणा गरिएको छ ।
प्रतिनिधि सभाको टिकट दाबी गर्नुभएका अम्बिरबाबु गुरुङलाई नदिएर गाउँपालिका उपाध्यक्षबाट राजीनामा गराएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि ओखलढुङ्गा विद्रोहमा उत्रिएको नेताहरूले बताएका छन् । गुरुङ नेकपामा गएर उम्मेदवार बनेपछि उहाँनिकट जिल्ला कमिटीका पदाधिकारी पनि नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गर्नुभएको छ । कार्यक्रममा ३८ जना विभिन्न कमिटीका सदस्यहरू नेकपा प्रवेश गरेको जानकारी दिइएको छ । तर केही नेताहरूले सामाजिक सञ्जालबाटै आफूहरू एमाले नछाडेको भन्दै आपत्ति जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्