रामेछाप, माघ १० । उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाका विभिन्न वडामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। दुर्गम क्षेत्रमा मानव बस्ती पातलिँदै गएको र त्यससँगै मानसिक तनावमा परेका व्यक्तिहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख अभिजीत सुनुवारले दुर्गम पालिकामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरी मानसिक स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ। समापन कार्यक्रममा बोल्दै प्रमुख सुनुवारले आगामी दिनमा पनि यो कार्यक्रमलाई थप प्रभावकारी ढंगले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मानसिक स्वास्थ्य सचेतना प्रशिक्षक कविता सुनुवारले सहभागीहरूलाई परामर्श तथा प्रशिक्षण दिनुभएको थियो। पछिल्लो समय मानसिक तनावका कारण धेरै व्यक्तिहरूले ज्यान गुमाएको अवस्था रहेको उल्लेख गर्दै उहाँले विशेषगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरी तथा युवाहरू बढी जोखिममा रहेको बताउनुभयो। यस्तो अवस्थामा यस्ता सचेतना कार्यक्रमले युवाहरूलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि उमाकुण्ड गाउँपालिकाका तीन वटा वडामा कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। सोअनुसार माघ ७ गते उमाकुण्ड गाउँपालिका–२ बाम्ती, माघ ८ गते वडा नं. ७ भुजी र माघ १० गते वडा नं. ५ प्रीतिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, आमा समूह, शिक्षक, विद्यार्थी तथा स्थानीय धामी–झाँक्रीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। स्वास्थ्य शाखाले यस्ता कार्यक्रमले समुदायस्तरमै मानसिक स्वास्थ्यप्रति बुझाइ बढाउन सहयोग पुगेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्