रामेछाप, माघ १० । रामेछापको लिखु कोरिडोर आसपासका सुक्खाग्रस्त बस्तीमा खानेपानी सुविधा पुर्याउने उद्देश्यसहित साँघुटार लिफ्ट खानेपानी योजनाको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ।
मृत सञ्जीवनी/एन एण्ड के जेभीले ठेक्का पाएको उक्त योजनाको करिब ३० प्रतिशत भौतिक प्रगति भइसकेको निर्माण कम्पनीका सञ्चालक सागर बुढाथोकीले जानकारी दिनु भयो। उहाँका अनुसार खानेपानी योजनाअन्तर्गत ट्याङ्की तथा फिल्टर ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने अब मुख्य लाइनको पाइप बिछ्याउने कार्य सुरु गरिनेछ।
कुल १५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त योजनाको मुख्य पाइपलाइन करिब ५ किलोमिटर लामो रहेको छ। पाँच चरणमा लिफ्ट प्रणाली प्रयोग गरी लिखु खोलाबाट पानी तानेर डाँडामा पुर्याई वितरण गरिने योजना रहेको बताइएको छ।

आयोजना सम्पन्न भएपछि रामेछाप नगरपालिकाको साँघुटार, गोठगाउँ र देउराली क्षेत्रका उपभोक्ताहरू लाभान्वित हुनेछन्। हालसम्म खानेपानीको गम्भीर अभाव झेल्दै आएका यी बस्तीमा सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ।

वाग्मती प्रदेश सरकारअन्तर्गतको खानेपानी डिभिजन कार्यालयमार्फत निर्माण भइरहेको यस आयोजनाको मुख्य लाइनको काम सम्पन्न भएपछि वितरण लाइनको ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ। आयोजना पूरा भएपछि लिखु किनारका सुक्खाग्रस्त क्षेत्रका नागरिकको दैनिकीमा महत्वपूर्ण राहत पुग्ने विश्वास लिइएको छ।













प्रतिक्रिया दिनुहोस्