काठमाडौं, माघ ११ । रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका बालेन्द्र साह (बालेन) ले विवादास्पद व्यापारीबाट ‘उपहार’ लिएको आठ करोडको डिफेन्डर गाडीको विषयमा जवाफ दिन अस्वीकार गर्नुभएको छ । महँगो उपहारको गाडी प्रकरण सार्वजनिक भएपछि सञ्चारकर्मीले प्रश्न गर्दा बालेनले जवाफ दिन इन्कार गर्नुभएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको गढ झापा–५ मा उम्मेदवारी मनोनयनपछि चर्चामा आउनुभएका बालेनले काठमाडौं फर्केपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिन अस्वीकार गर्नुभयो ।कोशी प्रदेशमा आफूले फाइनान्स गरेको अनलाइनदेखि युटुवरको समूह नै लिएर जानुभएका काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेनले आइतबार सञ्चारकर्मीले प्रश्न गर्दा बोल्न मान्नुभएन ।
काठमाडौंका मतदातालाई धोका दिएर मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका बालेन मनोनयनपत्र दर्ता गर्न जाँदा करेन्ट चाउचाउका मालिकबाट उपहार स्वरूप प्राप्त ८ करोड मूल्यको डिफेन्डर गाडीको बारेमा सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ । उक्त ८ करोड मूल्यको डिफेन्डर गाडी विवादास्पद व्यापारी करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स र गुट्खा उत्पादक श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानीको भएको यातायात व्यवस्था विभागबाट प्राप्त कागजातबाट खुलेको छ ।
मालपानीका छोरा नितेश मालपानी सञ्चालक रहेको त्रिमूर्ति इन्डष्ट्रिज प्रालिको नाममा उक्त गाडी रहेको छ । नबिल बैङ्क लिमिटेडमा राखिएको उक्त गाडीको ऋणी त्रिमूर्ति इन्डष्ट्रिज प्रालि उल्लेख छ । बालेनलाई उक्त गाडी दिन मालापनीले आनाकानी गर्नुभएको एक स्रोतले जनाएको छ । सोही गाडीको विषयमा आज सञ्चारकर्मीले बालेनलाई प्रश्न गर्दा ‘यही छ त गाडी ?’ भन्दै मुख बङ्ग्याएर हिँडिनुभएको हो ।
मालपानीको गाडीको विषय के हो मेयरसाप ? तपाईँले चढेको आठ करोडको गाडीको कुरा के हो ? तपाई उत्तरदायी त हुनुपर्यो नि ? भन्ने प्रश्न गर्दा बालेनले जवाफ दिन मान्नुभएन । सँगै रहेका बालेनका सहयोगीहरूले यही हो गाडी भन्दै सञ्चारकर्मीको जवाफबिनै कुदाएको दृश्य देखिएको छ ।
बालेनका सहयोगीले ढुङ्गा बोल्ला गाडीको विषयमा बालेनले नबोल्ने भन्दै उपस्थित सञ्चारकर्मीलाई बालेनलाई प्रश्न नगर्न भनेका थिए तर सोधेपछि जवाफ नदिएरै टाप कस्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्