जनता टाइम्स

१२ माघ २०८२, सोमबार ११:२९

 नेकपाको एकीकरण पूर्ण नहुँदै पार्टी बिखण्डन र अव्यवस्थातर्फ जाने झलनाथ खनालकाे चेतावनी 


काठमाडौं, माघ १२ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आम निर्वाचन २०८२ सन्निकट आइरहेको सन्दर्भमा मुलुकविरुद्ध भित्री तथा बाहिरी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको दाबी गर्दै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरूबीच नीतिनिष्ठ र दरो एकता अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको छ ।

जनता र राष्ट्रले कम्युनिष्ट शक्तिहरूबीच एकताको अपेक्षा गरिरहेका बेला त्यसैअनुरूप एकताका प्रयासहरू भइरहेको भए पनि नेपाली कम्युनिष्ट पार्टीभित्रकै व्यवहार र निर्णय प्रक्रियाले गम्भीर प्रश्नहरू उठाइरहेको भन्दै उहाँले असन्ताेष व्यक्त गर्नु एकाे छ। एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी समिति गठन हुन नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु र केही व्यक्तिको इच्छाअनुसार ठूला निर्णयहरू हुनु पार्टीका लागि चिन्ताजनक भएको उहाँको भनाइ छ ।

नेता खनालले वरिष्ठ नेता हरिबोल गजुरेलमाथि स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कारबाही गरिएको घटनालाई अस्वाभाविक र आश्चर्यजनक भन्दै आपत्ति जनाउनुभएको छ । विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारी नदिई एकैचोटि सञ्चार माध्यमबाट निर्णय सार्वजनिक हुनु पार्टीको आन्तरिक लोकतन्त्रविपरीत भएको उहाँको ठहर छ ।

यदि नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा अर्थमा कम्युनिष्ट पार्टीका रूपमा स्थापित गर्ने हो भने यस्ता कारबाहीहरू तत्काल स्थगित गर्नुपर्ने, हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका नेताहरुको आकस्मिक बैठक बोलाउनुपर्ने र किन यस्ता कदम चाल्नुपर्‍यो भन्ने विषयमा पार्टीभित्र गम्भीर तथा दोहोरो छलफल आवश्यक रहेको नेता खनालले उल्लेख गर्नुभएको छ ।

उहाँले पार्टीभित्र अधिनायवादी शैली होइन, सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिँदै यस विषयमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जोडदार माग गर्नुभएको छ । अन्यथा, एकीकरण पूर्ण नहुँदै पार्टी बिखण्डन र अव्यवस्थातर्फ जाने खतरा रहेको चेतावनीसमेत उहाँले दिनुभएको छ ।