जनता टाइम्स

१२ माघ २०८२, सोमबार १८:३८

एमालेले फिजिकल्ली काम गरेको छ, डिजिटल्ली फैलाइएका अफवाहको जवाफ जनताले दिनेछन् : देवेन्द्र दाहाल


झापा, माघ १२ । नेकपा एमालेका नेता देवेन्द्र दाहालले झापा–५ मा विकासका विरोधीले योजनाबद्ध प्रोपोगण्डा मच्चाइरहेका बताउनुभएकाे छ ।

पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदका हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका विकास निर्माणका कामको प्रत्यक्ष लाभ यहाँका जनताले उपभोग गरिरहेकाले सामाजिक सञ्जालमा फैलाइने हल्ला र अफवाहमा जनताले विश्वास नगर्ने दाहालको भनाइ छ ।

अध्यक्ष ओलीका चुनावी कमाण्डरसमेत रहनु भएका दाहालले केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत जनतालाई भ्रमित पार्ने प्रयास गरिरहे पनि त्यसलाई स्थानीयवासीले राम्ररी बुझेका बताउनुभयो । पार्टी केन्द्रीय सदस्यसमेत रहनु भएका दाहालले प्रचार समितिको बैठकमा बोल्दै भन्नुभयो, ‘सामाजिक सञ्जालमा फैलाइएका हल्ला चिर्नु हाम्रो दायित्व हो, एमालेले फिजिकल्ली काम गरेको छ, डिजिटल्ली फैलाइएका अफवाहको जवाफ जनताले दिनेछन् ।’

झापा–५ मा विगतको मतान्तर घटाउने छुट एमालेलाई नभएको उल्लेख गर्दै उहाँले देशी–विदेशी घेराबन्दीका विरुद्ध पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता दाहालले झापा–५ मा वडा, टोल र घरघरमा केन्द्रित अभियान सुरु भइसकेको जानकारी दिँदै पार्टी संगठनलाई थप सक्रिय बनाइने बताउनुभएको छ ।