जनता टाइम्स

१३ माघ २०८२, मंगलवार १३:३३

रामेछापमा विकास निर्माणको सबै काम आफ्नै अगुवाइमा भएको नेकपा उम्मेदवार श्रेष्ठको दाबी


रामेछाप, माघ १३। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रामेछाप क्षेत्रबाट उम्मेदवार बन्नुभएको श्यामकुमार श्रेष्ठ कुशलले रामेछाप जिल्लामा भएका विकास निर्माणका काम सबै आफ्नै अगुवाइमा भएको दाबी गर्नुभएको छ।

मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले रामेछापमा भएका विकास निर्माणका कामकाे जस जसले लिन चाहे पनि त्यो  आफू र आफ्नो पार्टीको नेतृत्वमा भएको दाबी गर्नुभयाे। ‘हामीले गरेका हौँ, हामीले’, श्रेष्ठले भन्नुभयो।

उहाँले साे दाबी गरिरहँदा पार्टीका जिल्ला इञ्चार्ज देवशंकर पाैडेलले भने नेकपा कालमा भएका विकास निर्माणका कामका एमालेले पनि आफ्नो नाममा दाबी गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयाे, ‘नेकपा कालमा भएकाेले उहाँहरुले पनि दाबी गर्न पाउनुयाे।’

पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी बनाइएको जानकारी पनि दिइएको थियो। निर्वाचन परिचालन कमिटीका प्रवक्ता झम्क कंडेलले नेता होमबहादुर बुढाथोकीको संयोजकत्वमा १ हजार ३ सय ९९ सदस्यीय कमिटी बनाइएको जानकारी दिनुभयो। कमिटीमा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरू समावेश गरिएको बताइएको छ।

कंडेलका अनुसार निर्वाचन परिचालन कमिटीलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न पार्टी जिल्ला इन्चार्ज देवशंकर पौडेलको नेतृत्वमा थप कमिटी बनाइएको छ। पार्टीले मतदाता भेटघाट र घरदैलो कार्यक्रम पनि सुरु गरेको उहाँले जानकारी दिनुभयो।