जनता टाइम्स

१३ माघ २०८२, मंगलवार २३:०३

राजनीति प्रतिशोध होइन, प्रतिष्पर्धा हो : मुख्यमन्त्री हिक्मत कार्की


झापा, माघ १३ । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति प्रतिशोधका लागि नभई प्रतिष्पर्धाका लागि हुने स्पष्ट गर्नुभएको छ।

दमकमा आज पत्रकारहरूसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेदवारहरू प्रतिष्पर्धा गर्न नभई प्रतिशोध साँध्न मात्र आएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘यहाँ केही साथीहरू प्रतिशोध साँध्न झापा–५ आएका छन्, उनीहरू यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानुहुन्छ।’

कार्कीले नेकपा एमाले सिद्धान्त र जनताको पक्षमा राजनीति गर्ने पार्टी भएको उल्लेख गर्दै एमालेले प्रतिशोधको राजनीति नगर्ने दाबी गर्नुभयो। ‘एमालेले सिद्धान्तको कुरा गर्छ, जनताको कुरा गर्छ, एमाले प्रतिशोधको राजनीति गर्दैन,’ उहाँले भन्नुभयो।

एमालेका उम्मेदवार तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालदेखि निरन्तर यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै सचिव कार्कीले उहाँको योगदानबारे यहाँका मतदाता जानकार रहेको बताउनुभयो। ‘केपी ओलीलाई झापा–५ मा सामीप्य छ, सम्बन्ध छ, माया छ, प्रेम छ,’ कार्कीले भन्नुभयो, ‘अरू उम्मेदवारहरू आफ्नो परिचय दिँदै हिँड्नुपर्ने अवस्थामा छन्। त्यसैले यो क्षेत्र एमालेका लागि सहज छ।’

सचिव कार्कीले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र भएकै कारण झापा–५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेको उल्लेख गर्नुभयो। उहाँले स्वदेशी वा विदेशी जुनसुकै निकायलाई पनि यस क्षेत्रमा आएर निर्वाचनको माहौल अवलोकन गरेर जान आग्रह गर्नुभयो।

२०४८ सालमा अध्यक्ष ओलीले चुनाव लड्दा यस क्षेत्रमा धुलाम्मे बाटो र पेट्रोमेक्सको उज्यालोमा चुनावी कार्यक्रम गर्नुपरेको स्मरण गराउँदै कार्कीले अहिले अधिकांश सडक पिच भएको, सबै क्षेत्रमा बिजुली पुगेको र अन्य पूर्वाधारका थुप्रै काम सम्पन्न भइसकेको बताउनुभयो। ती विकासका आधारमा यस क्षेत्रका जनताको रोजाइ फेरि पनि केपी शर्मा ओली नै पर्ने उहाँको भनाइ छ।