जनता टाइम्स

१४ माघ २०८२, बुधबार २०:५५

हुम्लामा हिमपातकै बिच एमालेको चुनावी प्रचार अभियान सुरु 


सिमकोट, माघ १४ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हुम्लाले हिमपातकै बिच चुनावी प्रचार अभियानको औपचारिक रूपमा शुरुआत गरेको छ ।

सिमकोट गाउँपालिका–५ खाद्यकको चौपाडीबाट प्रचार अभियान सुरु गरिएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिनुभयो । एमाले निर्वाचन परिचालन कमिटीको बैठकले आजबाट प्रचार अभियान औपचारिक रूपमा थाल्ने योजना बनाएको र सोही अनुसार तल्लो गाउँबाट अभियान सुरु गरिएको एमाले प्रचार–प्रसार उपसमितिका संयोजक तीर्थराज बोहराले बताउनुभयो ।

चौपाडीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार दल फडेरा, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी र निर्वाचन परिचालन कमिटीका संयोजक रावलले सम्बोधन गर्नुभएको थियो ।

 सभालाई सम्बोधन गर्दै प्रत्यक्ष उम्मेदवार फडेराले यो निर्वाचन देश जलाउने र देश बनाउनेबीचको लडाइँ भएको उल्लेख गर्दै देश बनाउने पार्टी एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

त्यस्तै समानुपातिक उम्मेदवार बोगटीले विगत २६ वर्षसम्म जिल्लामा अन्य दलका प्रतिनिधिहरूको कार्यशैली देखिएको भन्दै एमालेले प्रतिनिधि सभामा पुगेर जिल्लाका लागि भूमिका खेल्न नपाएको बताउनुभयो । उहाँले यसपटक एमाले उम्मेदवारलाई विजयी गराउन स्थानीय जनतालाई आग्रह गर्नुभयो ।

एमालेका उम्मेदवार तथा नेता–कार्यकर्ताले सिमकोट तल्लो गाउँ र माथिल्लो बजार क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै स्थानीय बासिन्दा र व्यापारीसँग मत मागेको जनाइएको छ ।

यसैबीच प्रचार रणनीति तय गर्न एमालेले जिल्लाका ४३ वडामा बैठक सम्पन्न गरेको छ । एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीका अनुसार आगामी निर्वाचनको प्रचारण रणनीति निर्माण गर्न वडा स्तरमा बैठक आयोजना गरिएको हो ।

उहाँले पार्टीको सर्कुलर अनुसार नाम्खा गाउँपालिका–५ लिमी बाहेकका सबै वडामा बैठक बसेको जानकारी जिल्ला कमिटीमा आएको बताउनुभयो ।

एमाले हुम्लाले हिमपातकै बिच वडा कमिटीहरूले वडा स्तरीय निर्वाचन कार्यालय स्थापना गर्ने र प्रचार अभियानको कार्ययोजना बनाउने काम गरिरहेको जनाएको छ ।