स्याङ्जा, माघ १४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ ।
स्याङ्जामा आज आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसदको निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।’
साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने उहाँको तर्क थियो ।
उहाँले जुनसुकै सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको, यसका लागि सबै दलहरुलाई एकै मञ्चमा राखेर यस विषयमा महासंघले नै बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसंग उल्लेख गर्दै अहिले सो आयोगका सुझावहरु पनि कतिपय कार्यान्वयनमा आएका स्मरण गर्नुभयो ।
अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरुको संशोधन देखि महासंघको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासंघको नेतृत्वमा अएपछि सम्पन्न भएका पनि स्मरण गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्