जनता टाइम्स

१५ माघ २०८२, बिहीबार १२:०९

नेकपा एमाले निर्वाचन घोषणापत्रको अन्तिम तयारीमा 


काठमाडौं, माघ १५ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरिने निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ।

पार्टीले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संगठन, जनसंगठन तथा विभिन्न क्षेत्रसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिनुभयो।

उहाँका अनुसार प्राप्त सुझावहरूलाई समेटेर घोषणापत्र लेखनको काम अगाडि बढाइएको छ। ‘हामी जनसंगठनलगायत धेरैजसो क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्र लेखनको काम गरिरहेका छौँ, छुटेका क्षेत्रबाट सुझाव सङ्कलन गरेर घोषणापत्रको अन्तिम मस्यौदा बनाउने छौँ,’ उहाँले भन्नुभयो।

शाहीका अनुसार विभिन्न क्षेत्रबाट दुई–तीन पटकसम्म सुझाव सङ्कलन गरिसकिएको छ भने अब त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ। एमालेले घोषणापत्र तयार पार्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहनुभएको छ।

पार्टीले सबै क्षेत्रका सुझाव समेटेर जनमुखी र व्यवहारिक घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।