जनता टाइम्स

१६ माघ २०८२, शुक्रबार १८:४३

युवा संघबाट बिदा भए क्षितिज थेवे, दोलखाका महाराज गुरुङ बने अध्यक्ष


काठमाडौं, माघ १६ । राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्व परिवर्तन भएको छ । शुक्रवार काठमाडौंमा सुरु भएको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिवद्वय भानुभक्त ढकाल, सचिव महेश बस्नेतलगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले नेतृत्व हस्तान्तरणको प्रस्ताव गर्दै उपाध्यक्ष गुरुङलाई अध्यक्षमा प्रस्तावित गर्नुभएको हो ।

थेवेको प्रस्तावलाई सर्वसम्मतीले पारित गरी युवा संघको नेतृत्व हस्तान्तरण गरिएको हो । गत जेठ १४ गते पोखरामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । थेवे एमाले केन्द्रीय सदस्य समेत भइसकेको कारण बैठकमा नेतृत्वबाट बिदा लिएर हस्तान्तरण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष महाराजले बैठकमै पद तथा गोपनीयताको सपथ पनि लिनुभएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–७ माबूमा जन्मिएका महाराज जुझारु युवा नेता हुनुहुन्छ । दोलखाको युवा संघ अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सचिवको जिम्मेवारी पूरा गरी गत महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर माहाराज उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्षको दावेदार रहे पनि थेवेलाई नै दोहोर्याउने अवस्था बनेपछि महाराज थेवेको पक्षमा उभिनुभएको थियो । थेवेले शुक्रवार महाराजको लगनशीलता र इमानको कदर गर्दै नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।