जनता टाइम्स

१७ माघ २०८२, शनिबार १२:५७

जिल्ला र देशको विकास र समृद्धिका लागि नीति बनाउन मेरो उम्मेदवारी : माधव ढुङ्गेल


रामेछाप, माघ १७ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रामेछापका उम्मेदवार माधव ढुङ्गेलले रामेछाप जिल्ला र समग्र देशको विकास तथा समृद्धिका लागि आवश्यक नीति निर्माण र त्यसअनुसारका कानुन बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।

शनिबार बिहान नेकपा (एमाले) रामेछापकाे प्रचार तथा प्रकाशन विभागले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आगामी निर्वाचनमा एमाले र आफूलाई मत दिनुपर्ने आधारबारे स्पष्ट धारणा राख्नुभएको हो । उम्मेदवार ढुङ्गेलले देशमा राजनीतिक स्थिरता, विकास, समृद्धि र दिगोपन सुनिश्चित गर्न नेकपा (एमाले) नेतृत्वको सरकार आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार मुलुकलाई स्थायित्वको मार्गमा अघि बढाउन एकल नेतृत्वको सक्षम सरकार गठन अपरिहार्य छ।

कार्यक्रममा उहाँले भदौ २३ र २४ गते भएका विध्वंस र विनाशका घटनाबारे पनि टिप्पणी गर्दै त्यस्ता घटना कुनै नेपालीले गर्न नसक्ने बताउनुभयो। उहाँले देशमा सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता गतिविधि रोक्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उम्मेदवार ढुङ्गेलले रामेछाप जिल्ला कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा निकै धनी रहेको उल्लेख गर्दै यी सम्भावनालाई व्यावसायिक रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ। उहाँले कृषि र पर्यटन क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आफू निरन्तर लाग्ने बताउनुभयो।

त्यसैगरी उहाँले रामेछापका जलस्रोतबाट प्राप्त हुने रोयल्टी रामेछापका जनताले नै पाउने व्यवस्था सुनिश्चित गर्न आवश्यक कानुन बनाउन प्रतिनिधि सभामा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। विदेश पलायन भएका युवालाई देशमा फर्किएर काम गरेर बस्ने वातावरण बताउनु आफ्नाे प्राथिमक कार्य बनेकाे उहाँले स्पष्ट पार्नुभयाे ।

उम्मेदवार ढुङ्गेलले आफू निर्वाचन जितेर प्रतिनिधि सभामा पुगेपछि रामेछाप र रामेछापवासीको शिर झुक्न नदिने दाबी गर्नुभयो। उहाँले जनताको विश्वासलाई सम्मान गर्दै जिल्लाको विकासका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले आफू पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको उल्लेख गर्दै नयाँ सोच र खोज गर्ने युवाहरूको मागलाई आफ्नो उपस्थितिले सम्बोधन गर्ने विश्वास दिलाउनुभयो। उहाँले रामेछापवासीलाई एक पटक आफूलाई जाँचेर हेर्न आग्रह गर्दै विकास र समृद्धिको यात्रामा साथ दिन तथा आफूलाई निर्वाचित गर्न हार्दिक अनुरोध गर्नुभयाे ।