जनता टाइम्स

१९ माघ २०८२, सोमबार ११:२५

गाउँका मानिसलाई बाँदरकै चिन्ता, बाँदर समाउनेलाई एक हजार रुपैँया पुरस्कार दिन वडा कार्यालयकाे घाेषणा


रामेछाप, माघ १९ । गाउँमा खेती लगाएर पनि बाली जोगाउन नसक्ने अवस्था आएपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदर नियन्त्रणका लागि वडा कार्यालयले विशेष अभियान थालेको छ ।

बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै वडा कार्यालयको अगुवाइमा ‘बाँदर व्यवस्थापन तथा नियन्त्रण समिति’ नै गठन गरिएको छ । वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार बाँदरको आतंक बढ्दै गएपछि किसानहरू खेती गर्नै डराउन थालेका छन् । ‘यदि बाँदर नियन्त्रण गर्न सकिएन भने ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था आउँछ,’ उहाँले भन्नुभयो ।

चिसापानीका किसानहरूको भेला बोलाएर समिति गठन गरिएको र अब बाँदर व्यवस्थापन सामूहिक रूपमा अघि बढाइने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले कृषिमा विभिन्न सहयोग गरे पनि किसानले उत्पादन गर्न नसक्ने समस्या बाँदरकै कारण उत्पन्न भएको छ । त्यसैले यसको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

वडा कार्यालयले बाँदर समातेर नियन्त्रण गर्ने कार्यलाई प्रोत्साहन गर्न प्रति बाँदर एक हजार रुपैयाँ दिने निर्णय गरेको छ । साथै बाँदर समातेर रङ्ग लगाएर छाड्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

स्थानीयवासीका अनुसार बढ्दो जंगल र बस्ती नजिकै फैलिएका रुखहरूका कारण बाँदर नियन्त्रण अझ चुनौतीपूर्ण बनेको छ । ‘बाँदर रुखको टुप्पामा पुग्छ, बूढाबूढीले त धपाउनै सकिँदैन,’ एक स्थानीयले गुनासो गरे ।

यसलाई नियन्त्रण गर्न वडा कार्यालयले बारी काल्नाका रुखहरू काँटछाँट गर्ने तथा झाडी पतल्याउने कार्यक्रम समेत अघि सारेको छ । ‘बारीकाल्नाहरु नै जङ्गल जस्ता भइसके, बाँदर त्यहीँ बस्न थाले, त्यसैले रुख–पात काटेर व्यवस्थापन गर्ने योजना बनाएका छौँ,’ वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बाँदर आतंकले पीडित बनेका किसानहरूका लागि वडा कार्यालयको यो पहल राहतको प्रयासका रूपमा हेरिएको छ ।