काठमाडौं, माघ १९ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सरप्राइज’ दियो । दोलखाकी रास्वपा उम्मेदवार सोविता गौतम १५ हजार २३८ मत ल्याएर विजयी हुँदा दशकौँदेखि यस क्षेत्रमा पकड जमाएका नेकपा एमालेसहितका पुराना दलहरू रक्षात्मक अवस्थामा पुगे ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रलाई फेरि एकपटक चर्चाको केन्द्रमा ल्याएको छ । निवर्तमान सांसद सोविता गौतम यसपटक मतदाताको विश्वास जित्न सकिन्न भन्ने निश्कर्षसहित सो क्षेत्रबाट जम्प गरेर चितवन–३ बाट उम्मेदवार बन्नुभएको छ ।
काठमाडौं–२ नेकपा एमालेका लागि सधैँ जित निकाल्ने निर्वाचन क्षेत्र हो तर गत निर्वाचनमा एमालेले आफ्नो गढ जोगाउन सकेन । यस क्षेत्रमा एमाले सधैँको एउटा निर्णायक शक्ति हो । २०७९ को निर्वाचनमा मणिराम फुयाल रास्वपाकी सोबिता गौतमसँग ११ हजार ५६६ मत प्राप्त गर्दै उपबिजेतामा सिमित हुनुपर्यो ।
एमालेसँग यस क्षेत्रमा करिब ९ हजार ५ सयको हाराहारीमा स्थिर समानुपातिक मत छ, जुन कुनै पनि परिस्थितिमा विचलित नहुने ‘क्याडर’ भोट मानिन्छ । अघिल्लो पटक रास्वपाको लहर र कांग्रेस–माओवादीको गठबन्धनको घेराबन्दीबीच पनि एमालेले सम्मानजनक मत ल्याएको थियो । सो परिणामले काठमाडौं–२ मा एमालेको सांगठानिक सुदृढतालाई देखाएको छ । एमालेले अहिले पनि मणिराम फुयाललाई नै मैदानमा उतारेको छ । फुयाल यो क्षेत्रमा अनुभवी र स्थानीय स्तरमा भिजेका पुरानो र स्थापित नेता हुनुहुन्छ ।
गत निर्वाचनमा बिजयी रास्वपाले भने यसपटक राप्रपाबाट पार्टी प्रवेश गराएर सुनिल केसीलाई उम्मेदवार बनाएको छ । सोविताले छाडेर हिडेपछि सो क्षेत्रमा रास्वपा कमजोर बनेको आँकलन सोही पार्टीका नेता–कार्यकर्ताले गरिरहेका छन । जित्ने भए किन जान्थिन ? कमजोर बनेको त सत्य हो भन्ने स्वीकारोक्ति सो दलका नेताबाटै मतदातासामू आउने गरेको दृष्य देखिएको छ । यद्यपी उस्को दवदवा बिगतको तुलनामा घटेको भएपनि कमजोर बनिसकेको भन्दै नजरअन्दाज भने गर्ने अवस्था देखिदैन ।
बिगतको त्यो माहोल जोगाउनु र अघिल्लो पटक समानुपातिकतर्फ प्राप्त १३ हजार ८७९ मतलाई सुरक्षित राख्दै थप गर्नु रास्वपासामू चुनौती देखिएको छ । अघिल्लो निर्वाचनमा राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको थियो । राप्रपाले यसपटक पनि पोखरेललाई नै उम्मेद्वार बनाएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसले कबिर शर्मालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँगको चुनावी तालमेलका कारण कांग्रेसले यहाँ प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार उठाएको थिएन । त्यसबेला कांग्रेसका मतदाता माओवादीकी ओनसरी घर्ती मगरलाई मतदान गर्नुपर्ने बाध्यतामा रहेका थिए । सो मत रास्वपातिर गएको थियो । सो निर्वाचनमासमानुपातिकतर्फ कांग्रेसले ल्याएको ७ हजार २६७ मत पाएको थियो । कबिरले विशेषगरी रास्वपाकै मत काटने देखिएको छ ।
काठमाडौं–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले माधव नेपालका भाञ्जा नितेश पौडेललाई उम्मेदवार बनाएको छ । लामो समय माधवकै पिए रहनुभएका नितेश पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । काठमाडौं–२ मा हाम्रो नेपाली पार्टी (लौरो), सचेत नेपाली पार्टी र विवेकशील साझा जस्ता दलहरूले अघिल्लो पटक करिब ३ देखि ४ हजार मत ल्याएका थिए ।समग्रमा, काठमाडौं–२ मा रास्वपा, एमाले, राप्रपा र कांग्रेसकै बीच प्रतिस्पर्धा देखिएको छ । अन्य दलका उम्मेद्वारले मत बढाए पनि जीत निकाल्न सक्ने अवस्था देखिएको छैन ।













प्रतिक्रिया दिनुहोस्