जनता टाइम्स

२१ माघ २०८२, बुधबार १३:२९

हेभिवेटको बिद्रोह गरेको सिन्धुली-२ मा जोगिएला त लालकिल्ला ? कांग्रेसलाई राहत मिल्ला कि नमिल्ला ?


सिन्धुली, माघ २१ । आगामी फागुन २१ गते हुनलागेको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ निकै चर्चामा छ । लालकिल्लाको रुपमा इतिहासमा दर्ज भएको यस क्षेत्रमा यसअघि बिजयी तात्कालिन नेकपा माओवादी हाल नेकपाका हेभिवेट नेता जति सवैले बिद्रोह गरेर जनयुद्धकालिन नेता महेश्वर दाहाललाई बागी उम्मेद्वार निकै चर्चामा रहेको छ ।

पत्रकारितादेखि राजनीतिमा इमान्दारिताको प्रतिक बनेर खडा भएका महेश्वर यस क्षेत्रमा मतदाता बिभाजित देखिएका छन । पञ्चायतबिरोधी आन्दोलनमा साहदत हुनुभएका ऋषि देवकोटा आजादको जिल्ला सिन्धुली–२ लाई कम्युनिष्टको ‘आधार इलाका’समेत भन्ने गरिन्छ । यस क्षेत्रमा २०४८ सालदेखि २०७९ सम्मको संसदीय निर्वाचनमा बामपन्थीको वर्चस्व रहँदै आएको छ ।

कुल १ लाख ४ हजार ६ सय २८ मतदाता रहेको आगामी निर्वाचन सिन्धुली–२ मा दशकौँदेखि कायम रहेको राजनीतिक विरासत, नयाँ शक्तिको उदयसँगै थप रोचक पनि बनेको छ । यस क्षेत्रमा यसपटक प्रमुख तीन ठुला दल, तिनका प्रभाव र बागी उम्मेदवारी र नयाँ शक्तिहरूको उदय देखिएको छ ।

सिन्धुलीमा २ वटा नगरपालिका र सात गाउँपालिका गरी जम्मा ९ वटा स्थानीय तह रहेका छन् । जसमध्ये सिन्धुली–२ मा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाका १–८ र १०–१२ वडाहरू पर्छन् । २०४८ सालदेखि २०७९ सालसम्मका निर्वाचन नतिजाहरूलाई नियाल्दा यहाँ कहिले नेपाली कांग्रेस र कहिले वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी पालैपालो हाबी भएका देखिन्छन् ।

पछिल्लो समय वामपन्थी शक्तिहरू विशेषगरी माओवादी केन्द्रको बलियो पकड देखिएको छ यस क्षेत्रमा । २०६४ साल यता भएका चार निर्वाचनमध्ये तीन पटक (२०६४, २०७४, र २०७९) माओवादीले जित हासिल गरेको छ भने २०७० मा कांग्रेसले जितेको छ । २०७९ को निर्वाचनमा माओवादीका लेखनाथ दाहाल (राजन), २०७४ को निर्वाचनमा माओवादीबाटै हरिबोल गजुरेल, २०७० मा कांग्रेसका मोहनप्रसाद बराल, २०६४ मा माओवादीका सीपी गजुरेल बिजयी हुनुभएको थियो ।

यस्तै २०५६ मा एमालेका शङ्करनाथ शर्मा अधिकारी, २०५१ मा कांग्रेसका हेमराज दाहाल र २०४८ मा कांग्रेसका प्रकाश कोइराला विजयी हुनुभएको थियो । पछिल्ला दुई निर्वाचनको परिणामलाई हेर्दा सिन्धुली–२ माओवादी केन्द्रका लागि सुरक्षित क्षेत्रजस्तै देखिएको थियो तर आगामी निर्वाचनमा भने नेकपाका दाहाललाई महेश्वर दाहालले कडा टक्कर मात्र होइन, उछिनेको अवस्था देखिएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का दाहालले एमालेका मनोज जंग थापालाई ५ हजार ८३० मतान्तरसहित २७ हजार ५१७ मत प्राप्त गरी जीत निकाल्नु भएको थियो । थापाले २१ हजार ६८७ मत प्राप्त गर्नुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनोजकुमार दाहालले १ हजार ५५३ मत ल्याएर तेस्रो स्थान सुरक्षित गर्नुभएको थियो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि यस क्षेत्रमा माओवादी केन्द्रकै हरिबोल गजुरेल विजयी भएका थिए । उहाँले ३० हजार १७९ मत प्राप्त गर्दा कांग्रेसका नरेन्द्र जंग थापा १८ हजार १२७ मतमा खुम्चिनुपरेको थियो ।

२०७९ सालको आम निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच बलियो चुनावी गठबन्धन थियो । सोही समीकरणका कारण माओवादीका दाहालले सहजै जित हासिल गर्नुभएको थियो । तर यसपटक परिस्थिति फेरिएको छ । प्रमुख दलहरू कांग्रेस, एमाले र नेकपा सबै एकल रूपमा चुनावी मैदानमा छन ।

अघिल्लो निर्वाचनमा ५ हजार मतान्तरले पराजित भएका एमालेका मनोज जंग थापा यसपटक पुरानो साख फर्काउने गरी प्रतिस्पर्धामा होमिनु भएको छ । माओवादी आफ्नो लालकिल्ला जोगाउन संघर्षरत छ । तर महेश्वर दाहालको राजनभन्दा मतदाताको रोजाइमा परेको दृष्यहरु देखिन थालेको छ । बागी उम्मेदवारका कारण यसपटक नेकपा अफ्ठ्यारोमा छ । २०७९ को निर्वाचनमा विजय भएका राजनलाई नयाँ पार्टीसँगै आफ्नै दलको बागीले समस्या बनाएको हो ।

आधिकारिक उम्मेदवार राजनविरुद्ध उहाँकै नेता महेश्वरले बागी उम्मेदवारी दर्ता गराएपछि नेकपाको आन्तरिक विवाद सतहमा आएको हो । प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका जनयुद्धकालिन नेता महेश्वरलाई पार्टीको एउटा प्रभावशाली तप्काको समर्थन छ । विशेषगरी सोही क्षेत्रबाट दुई पटक निर्वाचन जितेका र पूर्वमन्त्री भइसकेका हेभिवेट नेता हरिबोल गजुरेलले महेश्वरको प्रस्तावक बनेर चुनावी अभियानको नेतृत्व गर्नुभएको छ ।

जिल्ला इन्चार्ज वसन्त माझी र संयोजक पानीराज बम्जनको समेत साथ पाउनुले महेश्वर केवल विद्रोही नभई संस्थापनकै रुपमा देखिनुभएको छ भने राजन बागी जस्तो देखिनुपरेको छ । सिन्धुलीमा बागीले जितेको समेत इतिहास रहेको छ । २०६४ को निर्वाचनमा लिलामणि पोखरेलविरुद्ध निरु दर्लामीले बागी उठेर जित्नुभएको थियो । यसपटक पनि त्यही इतिहास दोहोरिए आधिकारिक उम्मेदवार राजनका लागि राजनीतिक अवशान हुने देखिन्छ ।

यता नेकपा एमालेले यसपटक दोहोर्याएर मनोजजंग थापालाई नै मैदानमा उतारेको छ । कूटनीतिक अनुभव, बौद्धिक छवि र इन्जिनियरिङ पृष्ठभूमि भएका थापाले अघिल्लो निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै लड्दा पनि २१ हजार ६ सय ७८ मत प्राप्त गर्नुभएको थियो । यसपटक उहाँलाई सहज बनेको आँकलन पनि गरिएको छ । आगामी निर्वाचनमा नेकपा बागी उम्मेदवारी परेकाले भोट बराबर हुँदा मनोजले जित्ने अनुमान मतदाता गरिरहेको भेटिन्छन ।

२०७९ को समानुपातिक मत परिणाममा एमाले १७ हजार १ सय ४९ मतका साथ पहिलो स्थानमा थियो । यस तथ्यांकले एमालेको सांगठानिक मत सिन्धुली–२ मा सबैभन्दा बलियो भएको देखाउँछ । नेकपाको मत विभाजित हुँदा त्यसको प्रत्यक्ष फाइदा थापालाई पुग्न सक्छ । थापाले यसपटक केवल राजनीतिक नारा होइन, नीतिगत सोच र प्रगतिशील रूपान्तरणलाई मुख्य एजेन्डा बनाउनु भएको छ । जसले शिक्षित र तटस्थ मतदातालाई आकर्षित गरिरहेको छ ।

२०४० सालमा कमला मावि ढुङ्ग्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट वामपन्थी राजनीति यात्रा सुरु गर्नुभएका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिव हुँदै राजनीतिमा अगाडि आउनु भएको हो । थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्नुहुन्छ । सिन्धुी २ मा नेपाली कांग्रेसकी सुशीला थिङ पनि यसपटकको प्रतिस्पर्धामा त्रिकोणात्मक भिडन्त बनाउने प्रयासमा हुनुहुन्छ । समानुपातिकतर्फ १३ हजार ३ सय ४९ मत प्राप्त गरेको कांग्रेसको मत यसपटक कता जान्छ भन्ने कुराले पनि निर्णायक भूमिका खेल्ने देखिएको छ ।

निर्वाचनमा रास्वपाबाट आशिष गजुरेल उम्मेदवार हुनुहुन्छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा सफल कार्यकाल बिताउनु भएका गजुरेल पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिनुभएको छ । अघिल्लो निर्वाचनमा रास्वपाले करिब ४ हजार समानुपातिक मत ल्याएको थियो ।

यस क्षेत्रमा कुल १६ जना उम्मेदवार छन् । राप्रपाका मुकुन्द प्रसाद गजुरेल, नेमकिपाकी रामेश्वरी कोजु र प्रलोपाका निर्मल कुमार स्याङतान प्रतिस्पर्धामा हुनुहुन्छ । विशेषगरी प्रलोपाका उम्मेदवार पूर्वमाओवादी नै भएकाले उनले पनि नेकपाकै आधारभूत मतमा धक्का पुर्याउने देखिन्छ । स्वतन्त्र उम्मेदवारहरू खड्ग बहादुर वाइबा र नरहरि पौडेल लगायतको उपस्थितिले पनि यहाँ ठुला दलको गणित बिगार्न सक्छ ।

यस्तै समानुपातिकतर्फ भने यहाँ एमाले पहिलो पार्टी बनेको थियो, एमालले समानुपातिकतर्फ १७ हजार १४९, माओवादी १५ हजार ८२६ र तेस्रोमा कांग्रेसले १३ हजार ३४९ मत ल्याएको थियो । चौथोमा रास्वपा थियो । रास्वपाले ३ हजार ९५४ मत ल्याएको थियो । विगतको परिणामले के स्पष्ट पार्छ भने सिन्धुली–२ मा एमाले सांगठनिक रूपमा बलियो छ, तर माओवादी र कांग्रेसको मत जोडिँदा एमाले पछि पर्छ ।

तर अहिले कांग्रेस र माओवादी अलग छन् र माओवादी आफैँभित्र विभाजित छ । यस्तो अवस्थामा १७ हजारको बेस मत भएको एमाले र विद्रोहको राप बोकेको माओवादीको बागी पक्षबीचको प्रतिस्पर्धाले परिणाम फरक पार्न सक्ने देखिएको छ ।

नेकपाका बागी उम्मेद्वार महेश्वर दाहाल जिल्लामा त्यागी र इमान्दार नेताको छवि बनाउनु भएको छ भने अहिलेसम्म अवसर नपाउने नेताका रुपमा स्थापित समेत हुनुहुन्छ । महेश्वर र उहाँको टीमले इतिहासको अपमान र नवमण्डलेकरणबिरुद्धको बिद्रोह भन्ने नारा दिएपछि सिन्धुलीमा आफ्ना नेताको अपमान गर्ने नेकपाको हेडक्वार्टरबिरुद्ध आक्रोश समेत जन्मिएको छ । जस्को कारण राजनले मत बढाउने भन्दा घटदै गएको देखिएको छ ।