जनता टाइम्स

२२ माघ २०८२, बिहीबार ०८:३०

गाउँमा दूध सङ्कलन केन्द्र स्थापना, पशुपालनमा नयाँ आशा


रामेछाप, माघ २२ । रामेछापको मन्थली नगरपालिका–२ धारापानीका किसानका लागि दूध उत्पादन अब बोझ होइन, अवसर बन्न थालेको छ। उत्पादन गरेपछि बिक्री कहाँ गर्ने भन्ने अन्योलमा रहेका किसानले अब आफ्नै गाउँमै दूध बेच्न पाउने व्यवस्था मिलेकाे छ।

कृष्ण प्रिया फर्म तथा दूध डेरी काठमाडौंले धारापानीमा दूध सङ्कलन केन्द्र स्थापना गरेपछि स्थानीय किसानले उत्पादन गरेको दूध गाउँमै खपत हुने र बाँकी दूध काठमाडौं पठाइने व्यवस्था मिलाइएको हो। यससँगै दूध नबिकेर खेर जाने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

डेरी सञ्चालकका अनुसार धारापानी क्षेत्रमा दूध उत्पादनको सम्भावना राम्रो देखिएकाले सङ्कलन केन्द्र स्थापना गरिएको हो। किसानलाई गुणस्तरीय दूध उत्पादन गर्न प्रोत्साहित गर्दै सरकारले तोकेको दरमै दूध खरिद गरिने र समयमै भुक्तानी गरिने प्रतिबद्धता डेरीले जनाएको छ।

स्थानीयवासीका अनुसार दूध सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसानको नियमित आम्दानी सुनिश्चित हुने देखिएको छ। यसले पशुपालनतर्फ आकर्षण बढाउने मात्र होइन, रोजगारीको खोजीमा गाउँ छाडेका युवालाई पनि फर्किन प्रेरणा दिने विश्वास लिइएको छ।

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले गाउँमै दूध सङ्कलन केन्द्र स्थापना हुनु किसानका लागि सकारात्मक अवसर भएको बताउनुभयाे। उहाँले किसानलाई दूध उत्पादन विस्तार गर्न आग्रह गर्दै स्थानीय उत्पादनलाई नै रोजगारी र आयआर्जनको आधार बनाउनुपर्नेमा जोड दिनुभयाे ।

दूध सङ्कलन केन्द्रको स्थापनासँगै धारापानी, टेकानपुर, कठजाेर क्षेत्रमा कृषिमा आधारित आर्थिक गतिविधि विस्तार हुने र ग्रामीण अर्थतन्त्र बलियो बन्दै जाने अपेक्षा गरिएको छ।