जनता टाइम्स

२२ माघ २०८२, बिहीबार १२:३१

झापा–५ मा बालेनकाे सम्पर्क कार्यालय रहेको घरमा तोडफोड, प्रहरी अनुसन्धानमा


काठमाडौं, माघ २२ । झापा क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साह ‘बालेन’को सम्पर्क कार्यालय सञ्चालन भइरहेको घरमा गयराति सामान्य तोडफोड भएको छ। अज्ञात व्यक्तिले झ्यालको सिसा फुटाइदिएको प्रहरीले जनाएको छ।

कमल गाउँपालिका–२ स्थित जयप्रकाश अधिकारीको घरमा रास्वपाको सम्पर्क कार्यालय सञ्चालनमा छ। प्रहरीका अनुसार घरको झ्यालमा ढुंगा प्रहार हुँदा सिसा फुटेको हो। यद्यपि, माथिल्लो तलामा सञ्चालनमा रहेको सम्पर्क कार्यालय रहेको कोठामा कुनै किसिमको क्षति नभएको झापा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। तोडफोड कसले र किन गर्‍यो भन्ने विषय प्रहरी अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।

यसअघि काठमाडौंमा बालेन्द्र साहको घरमा ग्रिल तोडेर चोरी भएको भन्ने हल्ला फैलिएको थियो। तर प्रहरी अनुसन्धानपछि उक्त घरमा चोरी नभएको खुलेको थियो। झापा–५ स्थित सम्पर्क कार्यालयमा भएको घटनाको वास्तविक अवस्था पनि अनुसन्धान पूरा भएपछि मात्र प्रष्ट हुने प्रहरीको भनाइ छ।