जनता टाइम्स

२२ माघ २०८२, बिहीबार १५:४१

 प्रधानमन्त्री सुशीला कार्कीसँग एमाले अध्यक्ष केपी ओलीकाे दुई घण्टा लामाे भेट : सरकारले ताेकिएकाे समयमा निष्पक्ष चुनाव गराउनेमा अझै आशंका


काठमाडौं, माघ २२ । निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच करिब दुई घण्टा लामो छलफल भएको छ। पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओली बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीतिक अवस्था र निर्वाचनका विषयमा संवाद गर्नु भएको हो।

उहाँहरु बिच आगामी निर्वाचनको तयारी, राजनीतिक वातावरण तथा निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। छलफलका क्रममा ओलीले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकार अघि बढ्नुपर्ने सुझाव दिनु भएको बताइएको छ।

पछिल्लो समय नेकपा एमालेका नेताहरूले सरकारले निर्वाचन गराउने विषयमा आशंका व्यक्त गर्दै आएका छन्। यही सन्दर्भमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले हालै सरकारले निर्वाचन नगराउने बहाना खोजिरहेको टिप्पणी गर्नु भएको थियो।

यसअघि प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हालको अवस्थामा निर्वाचन गराउन समस्या देखिए दुई चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिनु भएपछि एमाले नेताहरू सशंकित बनेका थिए। यही पृष्ठभूमिमा भएको प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।दलहरूबीच विश्वासको वातावरण निर्माण गर्दै निर्वाचन सुनिश्चित गर्ने चुनौती सरकारसामु अहिले पनि यथावत छ ।