जनता टाइम्स

२३ माघ २०८२, शुक्रबार १९:०८

बौराहामा आधारभूत समस्याको चाङ : उम्मेदवार ढकालद्वारा समाधानको प्रतिबद्धता


विराटनगर, माघ २३ । मोरङको बुढीगंगा गाउँपालिका–६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले निरन्तर गुनासो व्यक्त गर्दै आएका छन्।

मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बुढीगंगा गाउँपालिका–६ बौराहामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित विभिन्न सवाल उठाएका थिए। सहभागीहरूले स्थानीय आवश्यकता र समस्यालाई नीति तथा योजनामार्फत सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा उम्मेदवार ढकालले जनताको आवाज नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो। विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र जिज्ञासालाई आगामी योजनामा समेटिने उहाँले बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणमा विशेष ध्यान दिइने उहाँको भनाइ थियो।

उहाँले बुढीगंगा क्षेत्रको समग्र विकासका लागि स्थानीय आवश्यकताअनुसार कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो। करिब चार दशकदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले जनतासँग सहज रूपमा भेटघाट गर्न सकिने र जनजीवनसँग जोडिएको जनप्रतिनिधिका रूपमा आफू स्थापित भएको दाबी गर्नुभयो। आगामी दिनमा मोरङ क्षेत्र नं. ६ का विकासका मुद्दा सशक्त रूपमा उठाइने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

स्थानीयवासीका अनुसार बौराहाका अधिकांश भित्री सडक कच्ची रहेकाले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवतजावतमा समस्या हुने गरेको छ। नाली, सडकबत्ती र पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको भनाइ छ। सुरक्षित खानेपानी सबै घरधुरीमा सहज रूपमा नपुग्दा स्वास्थ्य जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ।

स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या बनेको छ। नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि समेत विराटनगर धाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। स्थानीयस्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीतर्फ लाग्न बाध्य छन्।

कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापनको अभावले किसान समस्यामा परेका छन्। उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित बन्दै गएको गुनासो छ। शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव रहेको स्थानीयले बताएका छन्।

यी समस्यालाई सम्बोधन गर्दै उम्मेदवार ढकालले बौराहाको विकासलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीले विकासमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अन्तरक्रियामा उठेका मुद्दालाई व्यवहारमा उतार्न आग्रह गरेका छन्। आगामी निर्वाचनमा यी विषय कति प्रभावकारी बन्छन् भन्नेमा स्थानीय समुदायको चासो केन्द्रित देखिएको छ।