जनता टाइम्स

२६ माघ २०८२, सोमबार ०९:५६

फागुन ६ गते जनकपुरधाममा नेपाली कांग्रेसको मधेस केन्द्रित चुनावी सभा हुने, पार्टी सभापति गगन थापाले सम्बाेधन गर्ने


जनकपुर, माघ २६ । नेपाली कांग्रेसको मधेस केन्द्रित चुनावी सभा फागुन ६ गते जनकपुरधाममा हुने भएको छ। यसअघि फागुन ७ गतेका लागि तय गरिएको सभा एक दिन अघि सारिएको हो।

शनिबार सम्पन्न मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा सभाको तयारी, व्यवस्थापन तथा संगठनात्मक पक्षबारे विस्तृत छलफल गरिएको थियो।

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ। साथै, सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट सहभागीहरू आमन्त्रण गर्ने निर्णयसमेत गरिएको जनाइएको छ।

उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिनुभएको छ।