जनता टाइम्स

२६ माघ २०८२, सोमबार १०:४२

सुनसान बन्दै साँघुटार बजार : एक समयको पूर्वकाे प्रमुख नाका अहिले ओझेलमा


नवराज पथिक

रामेछाप, माघ २६ । एक समय काठमाडौं जाने पूर्वको प्रमुख नाकाका रूपमा परिचित रामेछापको साँघुटार बजार अहिले सुनसान बन्दै गएको छ। लिखु खोला किनारमा अवस्थित यो बजार ओखलढुङ्गा, खोटाङ, उदयपुरदेखि भोजपुरका बासिन्दाको राजधानी आवतजावतको मुख्य केन्द्रका रूपमा चिनिन्थ्यो।

विसं १९६० सालतिर स्थापना भएको साँघुटार बजार १९६५ सालमा लिखु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि थप व्यस्त बनेको थियो। पुल तरेर पूर्व जाने तथा काठमाडौं आउने–जाने यात्रुहरू यही बजारमा रोकिने गर्दथे। त्यसबेला व्यापारिक गतिविधि तीव्र रहेको स्थानीयहरू बताउँछन्।

स्थानीय हीरा उदासका अनुसार प्रारम्भिक चरणमा एक स्थानीयले नाङ्ले पसल सञ्चालन गरेर व्यापार सुरु गरेका थिए। “पछि नेवार समुदाय र भक्तपुरबाट आएका व्यापारीहरूले पसल खोले, पछिसम्म पनि बजार निकै चल्थ्यो,” उहाँले भन्नुभयाे ।

हजुबा पुस्ताले सुरु गरेको व्यापार अहिले नाति–पनातिले धानिरहेका छन्। तर कुनै समय भ्याइनभ्याइ हुने बजार अहिले प्रायः सुनसान देखिन्छ। सडक सञ्जाल विस्तार र यातायातका नयाँ मार्ग खुलेसँगै यहाँको चहलपहल घट्दै गएको स्थानीयको भनाइ छ।

करिब एक सय वर्ष पुरानो यो ऐतिहासिक बजारमा ढुङ्गा र माटोले बनेका चार तले अग्ला घरहरू अझै उभिएका छन्। यद्यपि कतिपय घरहरू बाहिरबाट सिमेन्टले पोतिएका छन् भने केही संरचना भत्किँदै गएका छन्। बजार क्षेत्रमा क्रमशः नयाँ सिमेन्टका घर निर्माण हुन थालेपछि पुराना संरचनाको मौलिकता हराउने चिन्ता बढेको छ।

स्थानीयका अनुसार साँघुटारलाई सानो सहरका रूपमा योजनाबद्ध विकास गर्न सके मौलिक सम्पदा जोगिनुका साथै गाउँबाट सहर पलायनको दर पनि घटाउन सकिन्छ। पुराना घर संरक्षणका लागि विशेष कार्यक्रम आवश्यक रहेको उनीहरूको माग छ। “पुराना घर संरक्षण गर्ने कार्यक्रम चाहिन्छ, नत्र हाम्रो इतिहास माटोमै मिसिन्छ,” उदासले भन्नुभयाे ।

एक समयको व्यस्त नाका साँघुटार अहिले इतिहास बोकेर मौन उभिएको छ। यसको ऐतिहासिक पहिचान जोगाउने जिम्मेवारी कसले लिने भन्ने प्रश्न भने अझै अनुत्तरित छ।