ओखलढुंगाका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू अस्मिता थापा र कुमार लुइँटेलले एकअर्कालाई बिजयको शुभकामना दिएर उच्च राजनीतिक संस्कार देखाउनु भएको छ ।
ओखलढुंगा, माघ २६ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेकी एमाले नेतृ अस्मिता थापा र नेपाली काङ्ग्रेसका उम्मेदवार कुमार लुइँटेलले एकअर्कालाई बिजयको शुभकामना दिनुभएको छ।
चुनावी अभियानको क्रममा आज सोमबार मानेभञ्ज्याङ गाउँपालिका-६, हिलेपानीमा जम्काभेट हुँदा एकअर्कालाई शुभकामना दिनुभएको हो ।
स्थानीय कार्यक्रममा सहभागी हुने क्रममा भएको उक्त भेटमा दुवै उम्मेदवारले आगामी निर्वाचनका लागि एक-अर्कालाई शुभकामना आदान-प्रदान गरेका छन्।
भेटका क्रममा अस्मिता थापाले लोकतान्त्रिक प्रणालीमा स्वस्थ, मर्यादित र शालीन प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्नुभयो भने कुमार लुइँटेलले पनि सभ्य राजनीतिक प्रतिस्पर्धामार्फत जनताको मन जित्ने वातावरण निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
थापाले चुनावलाई व्यक्तिगत आक्षेप वा द्वेषको विषय नबनाई जनताको सेवा, विकास र समृद्धिको प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउनु भयो। उहाँले ओखलढुंगाको दीर्घकालीन विकासका लागि राजनीतिक दलहरूबीच आपसी सम्मान, सहकार्य र संवादको संस्कृति अपरिहार्य रहेको धारणा राख्नुभयो।
जम्काभेटका क्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवार, एमाले नेत्री रमिला मगर, नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य बाला अधिकारी कार्कीसहित नबराज केसी, रुद्र अधिकारी लगायतको उपस्थित थियो । दुई उम्मेदवारहरूको कुरा सुनेर सबले मुस्कान दिएर फोटो सेसन सहित बिदा भएका थिए।





















प्रतिक्रिया दिनुहोस्