जनता टाइम्स

२६ माघ २०८२, सोमबार २१:५१

अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण : प्रहरी महानिरीक्षक कार्की


काठमाडौं, माघ २६ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम तथा अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भए पनि सञ्चार माध्यमहरू लोकतन्त्रका मेरुदण्ड, सूचनाका संवाहक तथा राज्य र नागरिकबीच सन्देश प्रवाह गर्ने महत्वपूर्ण संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो। उहाँले कुनै पनि घटनाबारे सर्वसाधारणको पहिलो धारणा सञ्चार माध्यममार्फत नै निर्माण हुने भएकाले सम्प्रेषित प्रत्येक सूचना सत्य, तथ्यपरक, सन्तुलित र जिम्मेवारीपूर्ण हुन अत्यन्त आवश्यक रहेको बताउनुभयो।

उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल युगमा छिटो सूचना दिने होडबाजी बढेको उल्लेख गर्दै यस क्रममा ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’, ‘डिपफेक’ र कृत्रिम बुद्धिमत्ता (एआइ) को दुरुपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटा सामग्री बढ्दो चुनौतीका रूपमा देखा परेको बताउनुभयो। यस्तो प्रवृत्तिले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा तथा न्यायिक प्रक्रियामा समेत प्रत्यक्ष असर पार्ने भएकाले यसको समाधानका उपाय र नीतिगत सुधारबारे संयुक्त रूपमा गहिरो विश्लेषण र ठोस सुझाव निकाल्नु कार्यक्रमको उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

प्रहरी महानिरीक्षक कार्कीले सञ्चार माध्यम र प्रहरी दुवैले आपसी सम्मान, निष्पक्षता, व्यवसायिकता, संस्थागत मर्यादा तथा आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। सत्यको खोजी दुवै पक्षको साझा लक्ष्य भएकाले प्रभावकारी अन्तरक्रिया, अन्तरनिकाय सहयोग, समन्वय र स्पष्ट सूचना आदानप्रदान आवश्यक रहेको उहाँको भनाइ थियो। यस अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षामा प्रहरी र सञ्चार माध्यमबीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो।

अन्तरक्रियामा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाईंले ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’, ‘डिपफेक’ को सम्प्रेषणले राष्ट्र र समाजमा पार्ने प्रभाव तथा यसको नियन्त्रणमा सञ्चारकर्मीको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्रमाथि अवकाशप्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले टिप्पणी गर्नुभएको थियो।

यसैगरी, अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’, ‘डिपफेक’ का कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, अपराध अनुसन्धानमा पर्ने प्रभाव तथा समाधानका रणनीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि वरिष्ठ पत्रकार प्रतिक प्रधानले सञ्चारकर्मीको तर्फबाट टिप्पणी गर्नुभएको थियो। दुवै कार्यपत्रमाथि सहभागीहरूबीच विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सूचना तथा प्रसारण विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, सञ्चारकर्मीहरू तथा आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो।

सञ्चारकर्मीहरूलाई अपराध अनुसन्धान प्रक्रियाबारे जानकारी प्रदान गर्नु, नेपाल प्रहरी र सञ्चार माध्यमबीच प्रभावकारी सहयोग आदानप्रदानको रूपरेखा तयार गर्नु, दुवै पक्षका भूमिका, साझा चुनौती तथा नैतिक द्विविधाबारे छलफल गर्नु तथा अपराध अनुसन्धानमा सञ्चार माध्यमको प्रभाव विश्लेषण गर्नु कार्यक्रमका मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।