झापा, माघ २८ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता भेटघाट कार्यक्रम छैटौँ दिन पनि निरन्तर जारी रहेको छ। माघ २३ गते झापा–५ आइपुग्नुभएका ओलीले क्षेत्रका विभिन्न वडामा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ।
एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले भेटघाटका क्रममा मतदातामा फैलिएको भनिएको ‘भ्रम’ चिर्ने प्रयास गर्नुका साथै पार्टीका स्थानीय नेताहरूले विगतमा मतदातासँग गरेको व्यवहारबारे पनि चासो लिँदै प्रतिक्रिया संकलन गरिरहनुभएको छ।

स्थानीय तहमा आयोजना गरिएका भेटघाट तथा अन्तरक्रियामा सहभागी मतदाताले आफ्ना गुनासा र सुझाव राखिरहेका छन्। पार्टीका कार्यकर्ताहरूका अनुसार यसपटकको बसाइमा अध्यक्ष ओलीले घरदैलो र साना समूहमा छलफललाई प्राथमिकता दिनुभएको छ।
एमाले निकट कार्यकर्ताहरूले झापा–५ मा भएको पछिल्लो भेटघाटले मतदातामाझ रहेको ‘करिब ५० प्रतिशत भ्रम’ हटाउन सहयोग पुगेको दाबी गरेका छन्। उनीहरूका अनुसार यसअघि असन्तुष्ट देखिएका केही मतदाता र कार्यकर्तासमेत पुनः सकारात्मक बनेका छन्।
अध्यक्ष ओलीको झापा बसाइ अझ केही दिन जारी रहने कार्यक्रम रहेको बताइएको छ। एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा संगठन सुदृढीकरण र मतदाता संवादलाई तीव्र बनाएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्