जनता टाइम्स

२९ माघ २०८२, बिहीबार १०:३२

दोलखाको शैलुङमा नेता नै बलात्कारी बनेपछि


दोलखा, माघ २९ । दोलखाको शैलुङ गाउँपालिका-८ ढाडेमा एक नेतामाथि नै महिलामाथि जबरजस्ती करणी (जजक) गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

महिलामाथि ‘जजक’ गरेको अभियोगमा स्थानीय एक जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दर्ता भएको हो।

शैलुङ गाउँपालिका-८ ढाडेका कृष्णबहादुर खत्रीले सोही वडाका भैरवबहादुर काफ्ले विरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनाको विवरण अनुसार शैलुङ गाउँपालिका-८ ढाडेमा बसोबास गर्दै आएका कृष्णबहादुर खत्री, उहाँकी पत्नी र पाँच वर्षका नाबालक छोरा सँगै बस्दै आउनुभएको थिए।

उजुरीमा जनाइए अनुसार २०८२ माघ २० गते बेलुकी करिब ७:१५ बजे स्थानीय भैरवबहादुर काफ्लेले जाहेरवालालाई भैसे बजार आउने क्रमममा भेटिएको थियो ।

केही समयपछि जाहेरवाला घर फर्किँदा पीडित रोइरहेको अवस्थामा भेटिएको र सोधपुछ गर्दा अभियुक्त काफ्ले घरमा प्रवेश गरी पीडित महिलामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको बताइएको छ।

जाहेरीमा उल्लेख भएअनुसार घटना हुँदा जाहेरवाला घर बाहिर रहेको र अभियुक्तले पीडितमाथि हातपात गर्दै शारीरिक सम्बन्धको प्रयास गरेका थिए। पीडितले प्रतिकार गर्दै गुहार मागेपछि छिमेकीहरू घटनास्थलतर्फ आउँदै गरेको देखेपछि अभियुक्त घरबाट भागेको जनाइएको छ।

छिमेकीहरूको समयमै उपस्थितिका कारण गम्भीर घटना हुनबाट जोगिएको र उक्त कार्य जबरजस्ती करणी गर्ने मनसायसहित गरिएको दाबी जाहेरीमा गरिएको छ। सो घटनाका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दर्ता गरिएको हो।

जाहेरीमा स्थानीय बलराम खत्री र सोभित खत्रीलाई साक्षीका रूपमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यस विषयलाई लिएर गाउँपालिका वडा नं. ८ वडाध्यक्ष धनबहादुर तामाङले काफ्लेले नियतवश नै पीडितलाई जवरजस्ती गर्न खोजेको बताउनु भएको छ। यस्ता व्यक्तीलाई कानुनी कारबाही गरी सचेत गराउनुपर्ने तामाङले‌ बताउनु भएको छ ।

जबरजस्ती करणीका आरोप लागेका काफ्ले शारदा मावि भैंसेका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र नेकपा माओवादी केन्द्रका पूर्वसचिव रहनु भएको छ ।

स्थानीयवासीहरूले यसअघि पनि काफ्ले यस्ता गतिविधिसँग जोडिँदै आएको बताउँदै आएका छन् । तर राजनीतिक पहुँचका कारण ती घटनाका विषयमा प्रभावकारी अनुसन्धान हुन नसकेको उनीहरूको भनाइ छ ।