काठमाडौं, माघ २९ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र वस्तुस्थितिबारे जानकारी लिन देशको सबैभन्दा उच्च जिल्ला सोलुखुम्बु तथा छिमेकी भोजपुर जिल्लाको भ्रमण गर्नुभएको छ
प्रधानमन्त्री कार्कीले भ्रमणका क्रममा स्थानीय बासिन्दा, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिसँग विस्तृत छलफल गर्नुभएको थियो। छलफलमा निर्वाचन तयारीको अवस्था, सुरक्षा व्यवस्थापन तथा मौसमी परिस्थितिबारे जानकारी लिइएको थियो।
भ्रमणपछि प्रधानमन्त्री कार्कीले सुरक्षाको दृष्टिले दुवै जिल्लामा अवस्था शान्त र सन्तोषजनक रहेको जानकारी प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार हालसम्म कुनै उल्लेखनीय मौसमी प्रतिकूलता देखिएको छैन। यद्यपि सम्भावित हिमपातको अवस्था आएमा वैकल्पिक व्यवस्था गरिने जानकारी सम्बन्धित निकायहरूले गराएको उहाँले उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र र विश्वसनीय प्रक्रियालाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले अधिकतम मतदाता सहभागिता सुनिश्चित गर्न सबै पक्षसँग समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो। ‘हाम्रो लक्ष्य शान्तिपूर्ण वातावरण, स्वतन्त्र र विश्वसनीय प्रक्रिया तथा अधिकतम मतदाता सहभागिता हो,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘लोकतन्त्रलाई सुदृढ बनाउन सबैको साथ, सहयोग र सहभागिता आवश्यक छ।’
उहाँले सबै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकलाई जिम्मेवार र सकारात्मक भूमिकामा रहन आग्रह गर्दै आगामी निर्वाचनलाई सफल, विश्वसनीय र ऐतिहासिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्