जनता टाइम्स

२९ माघ २०८२, बिहीबार २१:२५

न्यूनतम सेवा मापदण्डमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीको ७० प्रतिशत प्रगति


रामेछाप, माघ २९ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली, रामेछापले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ।

स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेश, हेटौंडाबाट खटिएको अनुगमन टोलीले बुधबार र बिहीबार गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि प्राप्त गरेको हो।

मूल्याङ्कन टोलीमा स्रोत व्यक्ति भेषजविज्ञ डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल, एमएसएस फोकल पर्सन सुशील आचार्य तथा कविराज निरीक्षक विनोदकुमार साहलगायत सहभागी हुनुहुन्थ्याे। निर्देशनालयले तयार पारेका विभिन्न सूचकका आधारमा सेवा, व्यवस्थापन, सुशासन, भण्डारण, अभिलेखीकरण तथा कार्यक्रम सञ्चालनलगायत पक्षको मूल्याङ्कन गरिएको थियो।

चिकित्सालयले यही आर्थिक वर्षबाट मन्थली अस्पतालको पुरानो भवनबाट सेवा सञ्चालन सुरु गरेको हो। पूर्वाधार र कार्यालय व्यवस्थापनका केही काम अझै बाँकी रहेकै अवस्थामा पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्नु सकारात्मक उपलब्धि भएको निमित्त प्रमुख दीपक कार्कीले बताउनुभयो। उहाँले मूल्याङ्कनका क्रममा औँल्याइएका सुधार गर्नुपर्ने पक्षहरूलाई प्राथमिकतामा राखी योजना बनाएर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नतिजा सार्वजनिक कार्यक्रममा स्रोत व्यक्ति डा. अधिकारीले सुशासनको क्षेत्रमा चिकित्सालयले उल्लेखनीय काम गरेको बताउनुभयो। उहाँले रामेछापले सञ्चालन गरेकाे स्वास्थ्य शिविर सञ्चालन, घरदैलो कार्यक्रमजस्ता समुदायकेन्द्रित पहलहरू अन्य स्वास्थ्य संस्थाले पनि सिक्नुपर्ने अभ्यास भएको उल्लेख गर्नुभयो। यद्यपि भण्डारण व्यवस्थापनलगायत केही प्राविधिक पक्षमा अझै सुधारको आवश्यकता रहेको सुझाव उहाँले दिनुभयो।

चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा दिगो सुधारका लागि सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो। कार्यालय सहयोगीदेखि मन्त्रालयका सचिव र मन्त्रीसम्ममा ‘केही गरौँ’ भन्ने प्रतिबद्धता र हुटहुटी भए मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुने उहाँको भनाइ थियो।

स्वास्थ्य निर्देशनालयले लागू गरेको न्यूनतम सेवा मापदण्ड कार्यक्रम स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर मापन र सुधारका लागि कार्यान्वयनमा ल्याइएको हो। पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्नु चिकित्सालयका लागि उत्साहजनक उपलब्धि मानिएको छ भने आगामी वर्षमा थप सुधार गर्दै सेवा प्रभावकारिता बढाउने लक्ष्य चिकित्सालयले लिएको जनाएको छ।