बिर्तामोड, फागुन २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले झापा निर्वाचन क्षेत्र नं. २ का २५ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको जनाएको छ। शनिबार अर्जुनधारा नगरपालिका–२ मा वडास्तरीय परिचालन समिति घोषणा गर्दै क्षेत्रभर समिति गठन प्रक्रिया पूरा भएको जानकारी दिइएको हो।

पार्टीले चुनावी भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै वडावडामा संरचना निर्माण गरेर प्रचारप्रसारलाई गति दिएको परिचालन समितिका संयोजक एकराज कार्कीले बताउनुभयो। उहाँका अनुसार क्षेत्रका सबै वडामा एमाले एकढिक्का भएर निर्वाचनमा होमिएको छ।
अर्जुनधारा–२ मा आयोजित भेलालाई सम्बोधन गर्दै संयोजक कार्कीले प्रतिस्पर्धाको समयमा आन्तरिक एकतालाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको बताउनुभयो। उहाँले सबै वडाबाट पार्टी उम्मेदवार देवराज घिमिरेलाई विजयी गराउने दृढ संकल्प व्यक्त भएको जानकारी दिनुभयो।
‘फागुन २१ को निर्वाचन केवल विकासको सवाल मात्र होइन, राष्ट्र जोगाउने जिम्मेवारीसँग पनि जोडिएको छ,’ उहाँले भन्नुभयो, ‘मतदातासँग सहजीकरण गर्दा यही भावनालाई केन्द्रमा राख्न आवश्यक छ।’ सामाजिक तथा राजनीतिक क्षेत्रमा उमेरभन्दा लगनशीलता र स्पष्ट दृष्टिकोण महत्त्वपूर्ण हुने उहाँको धारणा थियो।
कार्यक्रममा उम्मेदवार देवराज घिमिरेले आफूले मतदाताको मन जितेर मत माग्ने नैतिक आधार बनाएको बताउनुभयो। पाँच वर्षका लागि मत दिएको जनताप्रति अधुरा काम पूरा गर्ने दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो।
‘अघिल्लो पटक यसै क्षेत्रका मतदाताले विश्वास गरेर पठाउनुभयो,’ उहाँले भन्नुभयो, ‘त्यस अवधिमा झापा–२ मा अर्बौं रुपैयाँ बराबरको बजेट ल्याएर विकासका काम अघि बढाइयो। धेरै आयोजना सम्पन्न भएका छन्, केही निर्माणाधीन छन्। ती सबै काम पूरा गर्न फेरि एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’
कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री चिन्तन पाठकले घिमिरे विजयी हुँदा जनताका समस्या सिधै सम्पर्कमार्फत समाधान गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। ‘पहिले पनि प्रत्यक्ष सम्पर्कमार्फत काम गरिएको थियो, अब पनि त्यही ढंगले अघि बढ्न सकिन्छ,’ उहाँले बताउनुभयो।
भेलामा सहभागी स्थानीय कार्यकर्ताहरूले अनुशासित र सालीन उम्मेदवार पाएको प्रतिक्रिया दिएका थिए। अधिकांशले घिमिरेले क्षेत्रमा उल्लेख्य विकास योजना भित्र्याएको भन्दै निरन्तरता आवश्यक रहेको बताएका थिए। कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या तथा प्राथमिकता समेत राखेका थिए।
निर्वाचन नजिकिँदै जाँदा झापा–२ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। एमालेले भने वडास्तरमै संगठन सुदृढ गर्दै चुनावी अभियानलाई संरचनागत रूपमा अगाडि बढाएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्