जनता टाइम्स

३ फाल्गुन २०८२, आईतवार १६:०२

सिन्धुलीको गोलञ्जोरमा टाटा सुमोको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध


सिन्धुली, फागुन ३ । सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ना.१ ज ४६२३ नम्बरको सुमोले पैदलयात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि गोलञ्जोर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक गोलञ्जोर गाउँपालिका–२ निवासी ठाकुर बयलकोटीका करिब ९ वर्षीय छोरा अषिक बयलकोटी रहेका छन्।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले ग्वाल्टारस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा सवारी साधनको आवागमन पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी ग्वाल्टार र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सुमो र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ। सुमो चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ निवासी २७ वर्षीय गोपाल भुजेल रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।