काठमाडौं, फागुन ४ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाइ जिताउन बिश्वभर छरिएर रहेका लमजुङ्गे नागरिकहरू एकजुट बनेका छन । बैचारिक र बिकाशप्रेमी नेताको जीत नै लमजुङ्गे जनताको हितमा रहेको निश्कर्षसहित बिश्वभर छरिएर रहेका लमजुङवासीहरूले भर्चुअल भेलामार्फत अमेरिकाकामा रहँदै आउनु भएका प्रभुराम थापाको नेतृत्वमा एक सय ११ सदस्यीय सहयोग कमिटी गठन गरेका हुन ।
अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएका थापा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव हुनुहुन्छ । बिदेशमा बसोवास गर्दै आएका लमजुङ्गेहरूले संयोजक थापाका अतिरिक्ति पाँचवटै वाटै महादेशमा संयोजक र सचिवालयसमेतको गठन गरेका छन । जसअनुसार अमेरिका महादेश संयोजकमा बीन घले, यूरोप संयोजकमा गोविन्द राज पाण्डे, ओसियाना संयोजकमा आत्माराम खनाल, पूर्वएशिया संयोजकमा सत्य घले र मध्यपूर्व संयोजकमा बावुराम सापकोटालाई तोकिएको ।
एमाले उपाध्यक्ष तथा उम्मेद्वार पृथ्वीसुब्बा गुरुङलाई नै प्रमुख अतिथी बनाएर आयोजना गरिएको भेलाले सहयोग कमिटीमा २५ सदस्यीय सचिवालयमा दुई सदस्य पछि थप्ने गरी संयोजक प्रभुराम थापासहित पाचै महादेश कमिटीका संयोजकहरू बिन घले, गोविन्दराज पाण्डे, आत्माराम खनाल, सत्यप्रसाद घले, बावुराम सापकोटा रहनुभएको छ । यसैगरी सचिवालयमा बिष्णुलाल श्रेष्ठ, शिवजङ गुरुङ, अर्जुन गौली, मुक्ति गुरुङ, प्रेम अधिकारी, चन्द्र गुरुङ, नरेन्द्र घले, लक्ष्मण घले, ऋषिकेश न्यौपाने, मेनुका त्रिपाठी, देविजंग गुरुङ, एकेन्द्र गुरुङ, ओम गुरुङ, बुद्धिराज घिमिरे, भीम गुरुङ, शिब थापालगायत सदस्य रहनुभएको छ ।
कमिटीले बिदेशमा रहेका सवै मतदाता मतदान गर्न लमजुङ आउने र परिवार तथा आफन्तजनलाई फोन मार्फत पनि पिएसको जीत नै लमजुङको हित भन्ने कुरा बुझाउने निर्णय गरेको संयोजक थापाले जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री, केन्द्रीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा लमजुङमा सयौं बिकाश आयोजनाहरू सुरु गरेको जनाउँदै ती अधुरा योजना पूरा गर्नुपर्ने दायित्वबोधका साथ चुनावमा पुनः उम्मेद्वार बनेको बताउनु भयो ।
‘जिल्लाका अधुरा आयोजनालाई पूरा गर्न र अब तपाईंहरूले कामको खोजीमा विदेसिनु नपरोस्, लमजुङमै रोजगारी सिर्जना होस् । तपाईंले विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्न पाइयोस् भन्ने मेरो चाहना छ । तपाईहरू सात समुद्रपारी हुनुहुन्छ, तर तपाईंको मुटुको धड्कन लमजुङकै पाखा–पखेरामा चल्छ भन्ने मलाई थाहा छ तपाईंहरूको मन दोर्दी, तार्दी, पाउंदी, चेपे र मस्र्याङ्दीका किनारहरूमा डुल्न आइपुग्छ,’ गुरुङले भन्नुभयो ।
उहाँले अगाडि थप्नुभयो, ‘जब यहाँ चाडपर्व आउँछ, तपाईको मन लमजुङ नै आईपुग्दछ । लमजुङको जनप्रतिनिधि हुँदा, मेरो अर्जुनदृष्टि सधैं ’समृद्ध लमजुङ’ मै थियो । हिजो र आजको लमजुङमा के फरक छ, त्यो तपाईंहरूले महसुस गर्नुभएकै छ । हिजो हिँड्न गाह्रो हुने ठाउँमा आज मोटरबाटो पुर्याएका छौं । एक घन्टा लगाएर पानी लिन जाने ठॉउंमा घर घरमा पानिको धारा छ ।’ एमाले उपाध्यक्ष गुरुङले उच्चा शिक्षा, श्वाथ्य र कालोपत्रे सडकको सञ्जाल विस्तार गरेका जानकारी पनि गराउनु भयो ।
‘स्मार्ट भिलेज’ को अवधारणा ल्याएर घलेगाउँ, काउलेपानी जस्ता गाउँलाई विश्वसामु चिनाउने काम गर्यौं । आज तपाईंको गाउँमा विदेशी पाहुना आउँदा तपाईंको शिर गर्वले ठाडो भएको छ,’ उहाँले भन्नुभयो, ‘बिजुली नपुगेका दुर्गम बस्तीमा केन्द्रीय प्रशारण लाइन र लघु जलविद्युत मार्फत उज्यालो पुर्याउने प्रयास गरेका छौं । तर, अझै धेरै काम गर्न बाँकी छ । म यो कार्यकाललाई ऐतिहासिक बनाउने र हाम्रो जिल्लालाई उत्कृष्ट जिल्ला बनाउने उदेशयको साथ उमेदवार बनेको छु ।’
गुरुङले आजैदेखि आफ्नो घरघरमा र आफन्तलाई फोन गरेर आफूले लमजुङका लागि गरेको काम बतार सत्य बुझाउन आग्रह पनि गर्नुभयो । ‘कृपया तपाईहरूले आजै आ–आफ्नो घरमा फोन गरेर भनिदिनुहोस– हाम्रो लमजुङ बनाउने, सुख दुःखमा साथ दिने र अनुभवले खारिएको र जिम्मेवारी बहन गर्न सक्ने उमेदवार पृथ्वीसुब्बा गुरुङ नै हो । लमजुङको विकास रोकिनु हुँदैन, त्यसैले यसपटक पनि हाम्रो भोट ’सूर्य’ मा हाल्नुहोस ।’
गुरुङले थप्नुभयो, ‘म तपाईंहरूको विश्वास टुट्न दिने छैन । लमजुङलाई देशकै नमुना जिल्ला बनाएर तपाईं स्वदेश फर्कदा गर्वलायक बनाउने जिम्मा मेरो भयो ।’ कार्यक्रममा गुरुङले अदालतको आदेशअनुसार सरकारले निर्णय गरेकोले सामाजिक सञ्जाल बन्द गर्ने कुरामा सञ्चारमन्त्रीका रुपमा आफ्नो ब्यक्तिगत कमजोरी नरहेको पनि प्रष्ट पार्नुभयो ।
‘हामीलाई लागेको प्रमुख दुई आरोप छन । एउटा सामाजिक सञ्जाल बन्द र ४० वर्षदेखि सधै एउटै उमेदवार भन्नेछ । यस्मा मेरो स्पष्ट धाराणा छ– हामीले सामाजिक सञ्जाललाई दर्ता र नियमन गर्न खोजेको हो । जस्लाई कानूनीरूपमा रजिस्ट्रेशन गर्दा ठूलो राजस्व सरकारले प्राप्त गर्दछ र सरकारले सामाजिक सञ्जाललाई नियमन गर्दा उत्पन्न परिस्थितिले जुन जनधनको क्षती भयो त्यसमा ब्यक्तिगत रूपमा र सरकारको तत्कालीन प्रवक्ताको रूपमा नैतिक जिम्मेवारी लिदै घटनाको छानविन आयोगको प्रतिवेदन छिटो भन्दा छिटो आवोस र दोषीलाई कारवाही गरिनुपर्दछ,’ उम्मेद्वार गुरुङले भन्नुभयो ।
दोस्रो आरोपको बिषयमा उहाँले थप्नुभयो, ‘लामो समयदेखि जिल्लावाट उमेदवार भएको सत्य हो तर म राजनीतिमा मान, पदवी र आर्थिक उन्नतिको लागि आएको होइन । आफ्नो भइरहेको जागिर छोडेर निरंकुश ब्यवस्थाको बिरुद्ध आम नागरिकको स्वतन्त्रता र मुक्तिको लागि ज्यान हत्केलामा राखेर पेशा/परिवार सबै छोडेर यो अभियानमा लागेको मात्र नभई पटक पटक पराजित हुँदा पनि हरेस नखाई जिल्लाको बिकासमा सधै लागिरहेको छु । मैले जम्माजम्मी जिल्लावाट निर्वाचित भएको पहिलो संबिधान सभाको पूरा कार्यकाल संबिधान बनाउने काममा पूराका पूरा उपयोग गरेको छु भने प्रदेश सांसदको रुपमा बिजयी हुँदा मुख्यमन्त्री हुने अबसरलाई पूरा कार्यकाल हुन सकेन । यसपाली अथवा पहिलो पटक पुरै जिल्लाको मतदाताले मतदान गरेर निर्वाचित भएको यो पहिलो पटक हो । अथवा मैले उम्मेदवार र राजनिति लामो समयदेखि गरे पनि सिंगो जिल्लाको प्रतिनिधिको रूपमा मैले मात्र ३ बर्ष काम गरें, जुन बिकासको हिसावले धेरै कम समय हो । यसैले पनि मलाई अव एक कार्यकाल तपाईहरूको प्रतिनिधि बनेर जिल्लामा सुरु भएका योजना पूरा गर्ने र अरू नयाँ योजना शुरु गराउने चाहना छ ।’

सो भेलामा एमाले लमजुङ अध्यक्ष राजकुमार बिष्टले पिएसलाई भारी मतले जिताएर पठाउन जिल्लादेखि देशभर र बिदेशमा रहेका सवैको साझा अभियान जरुरी भएको बताउनु भयो । उहाँले जिल्लामा चुनाव जित्ने कुरामा ढुक्क देखिएको भए पनि बिपक्षीलाई कमजोर आँक्न नहुने बताउनु भयो । भेलामा बोल्दै एमाले केन्द्रीय सदस्य तथा ओएनएफका निबर्तमान अध्यक्ष सञ्जय थापाले मुलुक बिषम परिस्थितिमा रहेको बेला भएको निर्बाचनमा देश बनाउनेहरूको पक्षमा प्रवासवाट माहोल बनाउनु पर्ने सुझाव दिनुभयो ।
‘प्रवासमा रहने हामीहरूले मुलुकमा अराजकता र सस्तो लोकप्रियताको लागि होईन लोकतान्त्रिकक, राष्ट्रवादी र बिकाशप्रेमी पार्टी एमालेका सूर्य ध्वाजावाहक उमेदवारलाई जिताएर मुलुकलाई भीडले होइन नीति, नियम र कानूनले अघि बढाउनु पर्छ भन्ने कुरामा अभियान चलाउनु पर्छ,’ थापाले भन्नुभयो ।
कार्यक्रममा एमालेका उपाध्यक्ष तथा लमजुङका प्रतिनिधिसभा सदस्य उमेदवार पृथ्बीसुब्बा गुरुङ, संबिधान सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्च (ओएनएफ) का निबर्तमान अध्यक्ष सञ्जय थापा, एमाले लमजुङ जिल्लाका अध्यक्ष राजकुमार बिष्ट, ओएनएफ सचिव चानक पोख्रेल, उपसचिव भक्त गुरुङ, सचिवालय सदस्य तथा अमेरिका इञ्चार्ज कुन्ती थापा, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, ओएनएफ सचिवालय सदस्य ज्योती शर्मा, सदस्य जानकी कार्की, कृष्णप्रसाद लामिछाने सहभागी हुनुहुन्थ्यो । यस्तै ओएनएफ युरोप संयोजक मुक्तबहादुर गुरुङ, अन्तराष्ट्रिय कमिटीका निवर्तमान सचिव हेम शेर्पा, अमेरिका अध्यक्ष छवि पाण्डेलगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्