जनता टाइम्स

५ फाल्गुन २०८२, मंगलवार १५:१९

देश दुई प्रकारका अतिवादको चपेटामा, चुनाव भाँड्न चाहने शक्ति सक्रिय : नेपाली कम्युनिष्ट पार्टी


काठमाडौं, फागुन ५ । नेपाली कम्युनिष्ट पार्टीले देश अहिले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको निष्कर्ष निकालेको छ।

आज पार्टी मुख्यालय पेरिडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्नि सापकोटाले जारी गर्नुभएको वक्तव्यमा देश जटिल र संवेदनशील परिस्थितिबीच निर्णायक निर्वाचन प्रक्रियाबाट गुज्रिरहेको बताउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई उच्च जिम्मेवारीका साथ काम गर्न आह्वान गरिएको छ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक अग्नि प्रसाद सापकोटले जारी गर्नुभएको वक्तव्यमा नवयुवापुस्ताको आन्दोलनपछि उत्पन्न अवस्थालाई सामान्य बनाउन पार्टीले इमानदार, जिम्मेवार र निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ। सरकारले निर्वाचन घोषणा गरेपछि केही दलले निर्वाचनको विरोध गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने अडान पार्टीले दृढतापूर्वक लिएको र अहिले त्यो निर्णय सही सावित भएको दाबी गर्नुभएको छ।

वक्तव्यमा सबै पक्षको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको उल्लेख गरिएको छ। संघर्षपूर्ण इतिहास, स्पष्ट विचार, ठोस कार्ययोजना र विगतका कमजोरी स्वीकार्दै सुधारको प्रतिबद्धतासहित जनतामाझ रहेको पार्टीप्रति विश्वास बढिरहेको दाबी गरिएको छ। संविधान जारी भएपछि शासकीय सुधार, निर्वाचन प्रणालीको परिमार्जन, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जनाजस्ता एजेन्डा आज साझा राष्ट्रिय बहस बनेको वक्तव्यमा जनाइएको छ।

पार्टीले देश अहिले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको उल्लेख गरेको छ। एकातिर दलाल र बिचौलियाको आडमा कुशासन चलाउने तथा सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलन दमन गर्ने प्रवृत्ति, अर्कोतर्फ जनभावनालाई स्वार्थमा प्रयोग गर्दै राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार र सर्वोच्च अदालतजस्ता संस्थामाथि आक्रमण गर्ने प्रवृत्ति दुवै लोकतन्त्रका लागि घातक रहेको ठहर गरिएको छ। निहत्था युवाको हत्या गर्ने र निहत्था सुरक्षाकर्मी तथा नागरिकलाई आगोमा जल्न बाध्य पार्ने दुवै अतिवादको सशक्त विरोध गरिएको छ।

यसैबीच निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधिप्रति पनि पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै पत्रकारिताको मूल्य–मान्यता र निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। साथै नेपाल प्रेस काउन्सिल लाई निष्पक्ष रूपमा आचारसंहिता अनुगमन गर्न अपील गरिएको छ।

देश संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचन विथोल्न चाहने शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ। दलअनुसार आचारसंहिता अनुगमनमा फरक व्यवहार भएको तथा उल्लङ्घनविरुद्ध प्रभावकारी कारबाही नभएको भन्ने प्रश्नहरू उठिरहेको सन्दर्भमा आयोगले स्पष्ट निर्णय, कडा निगरानी र प्रभावकारी कार्यान्वयनमार्फत जनविश्वास कायम राख्नुपर्ने बताइएको छ।

पार्टीले आफ्नो प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको उल्लेख गर्दै सम्पूर्ण मतदातालाई सबै दलहरूको विगत, विचारधारा, एजेन्डा र भावी रोडम्यापको गहिरो मूल्याङ्कन गरी विवेकपूर्ण निर्णय गर्न आग्रह गरेको छ।

वक्तव्यको अन्त्यमा वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आह्वान गरिएको छ।