दमक, फागुन ५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई सिध्याउन आगो लगाएका भए पनि एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
मंगलबार झापामा आयोजित कार्यक्रममा फागुन २१ को निर्वाचनबाट एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले दोस्रो पार्टी थियो, चुनाव हुने भयो पहिलो पार्टी हुन्छ, त्यसका लागि हामी हतारमा थिएनौँ, हामी २०८४ पर्खिरहेका थियौँ, एमालेलाई सिध्याउन आगो लगाइयो, तर अब फागुन २१ गते हुने निर्वाचनमा एमाले पहिलो पार्टी हुन्छ, बहुमत नआए पनि कम्तीमा पहिलो पार्टी हुनेछ।’
अध्यक्ष ओलीले देशमा अराजकता, आगजनी, तोडफोड र लुटपाटको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘देशमा अराजकता मच्चाउन, आतङ्क फैलाउन, आगजनी गर्न, तोडफोड गर्न र लुटपाट गर्न नेपाली हुनु शरम् विषय हो, अर्काको सम्पत्ति लुटेर जीविका चलाउने नेपाली जाति होइन, नेपाली शान्तिप्रिय, गरिखाने जाति हो, आगो लगाउँदै हिँड्ने जाति होइन।’
उहाँले थप भन्नुभयो, ‘जसले जलाए ती देशका दुष्मन हुन्, जसले अरूका घर जलाए ती आतङ्ककारी हुन्, अपराधी हुन्- जसले सिंहदरबार जलाए, सर्वोच्च अदालत जलाए, संसद् भवन जलाए, उनीहरूले देश बनाउन खोजेका होइनन्, देशमा विध्वंस मच्चाउन खोजेका हुन् ।’
अध्यक्ष ओलीले राष्ट्रियता र लोकतान्त्रिक मूल्यको संरक्षणमा दृढ रहन र आगामी निर्वाचनमा एमालेलाई सुदृढ बहुमत दिलाउन आह्वान गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्