जनता टाइम्स

६ फाल्गुन २०८२, बुधबार १३:३९

चुनाव नजिकिँदै जाँदा रास्वपामा पार्टी छाड्ने नेताहरूको लर्को  


काठमाडौं, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको पार्टी छाड्ने लर्को नै लागेको छ ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पार्टीकी मधेसकी संस्थापक सभापति ममता शर्माले आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ। उहाँले पार्टीले अपनाएको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको कारणले देखाउँदै राजीनामा दिनुभएको हो। “सङ्गठनमा दिनरात खटिएका क्षमतावान् मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्त व्यवहारमा लागू नहुँदा र आर्थिक अनियमितताबाट निर्णय प्रभावित हुने अवस्था देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच आएको छ,” उहाँले राजिनामा-पत्रमा लेख्नु भएको छ।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु’, उहाँले लेख्नु भएको छ ।

यसैबिच पार्टी नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ। उहाँ २०७९ सालको प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो। उहाँले पनि पार्टीमा स्थापनाकालीन मूल्य र विधान विपरीत गतिविधि बढेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

ममता शर्मा र उर्मिला भुर्तेलको राजीनामासँगै पार्टीभित्र वर्तमान नेतृत्वको पद्धति, निर्णय प्रक्रिया र आर्थिक व्यवस्थापनबारे आलोचना सार्वजनिक भएको छ। पार्टी छाड्ने नेताहरूले आफूहरू युवा नेतृत्व र योग्य व्यक्तिको संलग्नताका पक्षधर भएर आबद्ध भए पनि आर्थिक र नीतिगत असमानताका कारण मौन रहन नसकेको स्पष्ट पार्नु भएको छ ।

चुनावको मुखमा यी वरिष्ठ नेताहरूको राजीनामा र पार्टी छोड्ने प्रवृत्तिले रास्वपामा आन्तरिक अस्थिरता बढाएको विश्लेषकहरूले बताएका छन्। आगामी निर्वाचनअघि पार्टीका रणनीति, मतदाता विश्वास र क्षेत्रीय संगठनात्मक कामकाजमा यसको प्रभाव पर्ने देखिएको छ ।

यस घटनाले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालीन मूल्य, निर्णय प्रक्रिया र आर्थिक पारदर्शिताबारे फेरि व्यापक छलफल र ध्यानाकर्षण गराएको छ। यस अघि सो पार्टीकी नेतृ सुमना श्रेष्ठ, सन्तोष परियार, डा मुकुल ढकाल लगायतका वरिष्ठ नेताहरूले सो पार्टी छाडि सकेका छन् ।