काठमाडौं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजसंस्थाको संयुक्त प्रयासबाट नेपालमा प्रजातन्त्रको उदय भएको दाबी गर्नुभएको छ ।
उहाँले एउटा नेपालीले अर्को नेपालीलाई बैरी ठान्ने संस्कृतिले देशलाई कठिन मोडमा पुर्याएको बताउँदै परस्पर घृणा र द्वन्द्वको राजनीतिलाई परास्त गरी सद्भाव, सहकार्य र एकताको राजनीति प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उहाँले देशको अस्मिता र अस्तित्व नै चुनौतीमा परेको उल्लेख गर्दै परिवर्तनका नाममा भएका विभिन्न आन्दोलनले नेपाल र नेपालीलाई अपेक्षित उपलब्धि दिन नसकेको दाबी गर्नु भएको छ । यस्तो परिस्थितिमा आफूलाई देशका लागि केही गर्नुपर्छ भन्ने अठोट जागेको उहाँको भनाइ छ ।
उहाँले वर्तमान अवस्थामा देश गम्भीर सङ्कटमा परेको उल्लेख गर्दै राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनतर्फ जानु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले प्रजातान्त्रिक प्रणालीमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान समस्याको जड समाधान नगरी निर्वाचनमा जाँदा देशले सही निकास नपाउने धारणा राख्नु भएको छ । उहाँले भन्नुभयो, ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ, निर्वाचनपछि कुनै द्वन्द्व, असन्तोष वा खिचातानी नहोस् भन्ने सुनिश्चितता गर्न राष्ट्रिय सहमति र सबै पक्षलाई समेटेर अघि बढ्दा मात्र देशले सही बाटो समात्नेछ ।’
उहाँले अधिकार मात्र खोज्ने तर कर्तव्य पालनामा उदासीन हुने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्दै ‘आलोपालो भाग लगाएर खाऊँ’ भन्ने सोचभन्दा माथि उठेर ‘मिलेर काम गरौँ’ भन्ने संस्कार विकास गर्नुपर्ने बताउनुभएको छ । देश कसैलाई खुसी पार्नुपर्ने वा कसैबाट निर्देशित हुनुपर्ने जञ्जिरमा बाँधिएको जस्तो देखिएको उल्लेख गर्दै आत्मनिर्भर र स्वाभिमानी राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
आम जनताको हित र नेपालीको उच्च शिर रहने व्यवस्था नै नेपाललाई सुहाउने प्रजातान्त्रिक प्रणाली हुने उहाँको भनाइ छ । कुनै पनि व्यवस्थामा रहेका खराब पक्षलाई त्यागेर सकारात्मक र उपयोगी पक्षलाई आत्मसात् गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
नेपालले आफ्नो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग र परिष्करण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताको आवश्यकता र आकाङ्क्षालाई केन्द्रमा राखेर राज्य संयन्त्र परिमार्जन गरिनुपर्ने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्