जनता टाइम्स

७ फाल्गुन २०८२, बिहीबार ११:३३

प्रजातन्त्र आममानिसको मुहारमा झल्किनुपर्छ : प्रधानमन्त्री सुशीला कार्की


काठमाडौं, फागुन ७। प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक झल्को आममानिसको मुहारमा देखिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कतै होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ’ भन्नुभयो ।

उहाँले युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने स्पष्ट पार्दै युवाको ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । ‘म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन, युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ, उहाँहरूले नातावाद, कृपावाद र भ्रष्टाचार सहनुहुन्न,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको जानकारी दिनुभयो । निर्वाचनले ‘नयाँ युगको ढोका उघार्ने’ उल्लेख गर्दै उहाँले तोकिएकै मितिमा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता व्यक्त गर्नुभयो ।

उहाँले नेपालको निर्वाचन इतिहासमा वि.सं. २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुरु भएको स्मरण गर्दै आगामी निर्वाचनले दिगो लोकतान्त्रिक स्थायित्वको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकतन्त्र केवल प्रक्रिया मात्र नभई नतिजामुखी हुनुपर्नेमा जोड दिँदै उहाँले विधिको शासनलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो । ‘प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु लोकतन्त्रको अभ्यास होइन, यो त बेथिति हो,’ उहाँले स्पष्ट पार्नुभयो ।

भदौ २३ र २४ काे घटनापछि गठन भएको सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उहाँले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकार अग्रसर रहेको जानकारी दिनुभयो ।

असामान्य अवस्थालाई सामान्यीकरण गर्दै मुलुकमा शान्ति–सुव्यवस्था बहाली गर्नु र छोटो समयमा निर्वाचनका लागि सबल वातावरण तयार गर्नु सरकारको प्राथमिक कार्यादेश रहेको उहाँले बताउनुभयो ।

आगामी निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपिल गर्नुभयो ।