जनता टाइम्स

७ फाल्गुन २०८२, बिहीबार १२:०६

धनगढीकाे रास्वपा सभामा प्रवेश पास माग्दै पत्रकारमाथि धक्कामुक्का, महासंघको आपत्ति


धनगढी, फागुन ६। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कैलालीको धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभामा समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई रोक लगाइएको तथा धक्कामुक्का गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश समितिका महासचिव  शिवराज भट्टको हस्ताक्षरमा जारी विज्ञप्तिमा आमसभा स्थलमा पुगेका पत्रकारहरूलाई ‘रास्वपाको पास बिना प्रवेश गर्न नमिल्ने’ भन्दै दुर्व्यवहार गरिएको उल्लेख छ । समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको धक्कामुक्का निन्दनीय भएको महासंघले जनाएको छ ।

महासंघले रास्वपाका कार्यकर्ताहरूको उक्त व्यवहार नेपालको संविधानको प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको अधिकारविपरीत भएको ठहर गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित चुनावी कार्यक्रमहरूमा पत्रकारहरूलाई निर्वाध रूपमा समाचार संकलन गर्न दिन सबै राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।

साथै, प्रदेशभरिका सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र कुनै दल वा उम्मेदवारको एकपक्षीय प्रचारमा नलाग्न महासंघले अनुरोध गरेको छ ।