रामेछाप, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जेलबाट भाग्ने अपराधीहरू नै आफू ठुलो भएको दाबी गर्दै हिँड्ने विडम्बनापूर्ण अवस्था देशले भोग्नु परेको बताउनुभएको छ।
बिहीबार मन्थली नगरपालिका–८ चिसापानीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले तथाकथित ‘जेनजी आन्दोलन’को नाममा देश जलाउने र जेलका अपराधी कैदी भगाउने काम भएको आरोप लगाउनुभयो। अहिले तिनै जेलबाट भागेर निस्किएका कैदीका नाइके घण्टी बजाउँदै आफूलाई ठुलो शक्ति भएको दाबी गर्दै हिँडिरहेको उहाँले टिप्पणी गर्नुभयो। ‘जेलबाट भागेर आएका कैदीले म नै ठुलो हुँ भन्दा पनि केही मान्छेले पत्याएका छन्, यो देशका लागि दुर्भाग्यपूर्ण कुरा हो,’ उहाँले भन्नुभयो।
अध्यक्ष ढुङ्गेलले वर्तमान चुनावलाई एमाले कमजोर पार्न र जनमत विभाजित गर्न गरिएको प्रपञ्चपूर्ण खेलका रूपमा व्याख्या गर्नुभयो। तर जनतामा एमालेप्रति बलियो विश्वास र समर्थन रहेको दाबी गर्दै उहाँले त्यस्ता प्रयासहरू असफल हुने बताउनुभयो। ‘एमालेलाई कमजोर बनाउने सपना देख्नेहरूको चाहना जनताले धुलोपिठो बनाइदिन्छन्,’ उहाँले भन्नुभयो।

देश निर्माणको स्पष्ट दृष्टि र कार्ययोजना एमालेसँग मात्र रहेको जिकिर गर्दै उहाँले अन्य दलहरूले एमालेले गरेका विकासका आधारमा टेकेर नै राजनीति गरिरहेको आरोप लगाउनुभयो। ‘विकासका काम कसले गर्यो भनेर सोध्नुस्, जवाफ आफैँ प्रस्ट हुन्छ,’ उहाँले स्थानीयलाई आग्रह गर्नुभयो।
उहाँले अहिलेको राजनीतिक बहस ‘जलाउने र बनाउने’ सक्तीबिचको संघर्ष भएको उल्लेख गर्नुभयो। नयाँ शक्ति भन्दै उभिएका समूहहरूले विध्वंस मात्र गरेको आरोप लगाउँदै उहाँले निर्माण र स्थायित्वका पक्षमा उभिने मतदाताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा एमालेका तर्फबाट रामेछापका प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव ढुङ्गेल, समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठ तथा वाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतमलगायतले पनि एमालेको पक्षमा मतदान गरी देश निर्माणको अभियानलाई सफल बनाउन आह्वान गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्