जनता टाइम्स

७ फाल्गुन २०८२, बिहीबार २१:३९

नागरिकलाई अप्ठेरो पर्दा एमाले साथमा रहन्छ : रत्न गौतम


रामेछाप, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले नागरिकको दुःख–सुखमा एमाले सधैँ साथमा रहने बताउनुभएको छ।

बिहीबार मन्थली नगरपालिका–८ चिसापानीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले एमाले केन्द्रदेखि तल्लो तहसम्म एउटै नीति, विचार, व्यवहार र सिद्धान्त बोकेको पार्टी भएको दाबी गर्नुभयो। संगठनात्मक एकता र स्पष्ट दृष्टिकोणकै कारण देश विकासको नेतृत्व एमालेले गर्दै आएको उहाँको भनाइ छ ।

रामेछापसहित देशभर सडक, शिक्षण संस्था, खानेपानीलगायत पूर्वाधार विकासमा एमालेको मुख्य भूमिका रहेको उल्लेख गर्दै उहाँले विकास निर्माणका काममा एमालेले निरन्तर नेतृत्व गरेको बताउनुभयो। ‘विकास निर्माणको काममा सँधै नेतृत्व गरेकोले जस–अपजस सबै एमालेले लिन्छ, भोलि हुने विकास निर्माणको काम पनि एमालेले नै जिम्मा लिने हो,’ उहाँले भन्नुभयो।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अघि सारेर विकासको मुद्दा बोकेर पार्टी अघि बढ्ने स्पष्ट पार्दै उहाँले देश विकासप्रति एमाले प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो।

गौतमले नागरिकलाई हरेक अप्ठेरोमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। ‘तपाईँहरूलाई हरेक कुरामा अप्ठेरो पर्दा नेकपा एमाले साथमा हुन्छ, हरेक बिरामीलाई समस्या पर्दा एमालेको अगुवाइमा सहयोग र सहजीकरण हुन्छ, जस्तोसुकै कठिन अवस्थामा पनि एमालेले साथ दिने प्रतिवद्धता व्यक्त गर्दछौँ,’ उहाँले भन्नुभयो।

उहाँले आसन्न निर्वाचनमा एमालेको पक्षमा मतदान गरी विकास र स्थायित्वको अभियानलाई सशक्त बनाउन मतदातासमक्ष आग्रह गर्नुभयो।