जनता टाइम्स

८ फाल्गुन २०८२, शुक्रबार ११:१०

सिन्धुलीको मरिणमा एमालेतर्फ आकर्षण, भालुमारामा लालमान लोको नेतृत्वमा नेकपा परित्याग


सिन्धुली, फागुन ८ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मरिण गाउँपालिकाको राजनीतिक माहौल फेरिन थालेको छ। मरिण गाउँपालिका–३ भालुमारामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी लालमान लोको नेतृत्वमा ठूलो संख्यामा नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोजजंग थापाले खादा लगाएर स्वागत गर्नुभएको हो।

स्वागत कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार थापाले स्थानीय विकास, रोजगारी सिर्जना र स्थायित्वको राजनीतिलाई केन्द्रमा राखेर एमाले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘जनताको भरोसामाथि उभिएको पार्टी एमाले हो। हामी चुनाव जित्न मात्र होइन, सडक, शिक्षा, स्वास्थ्य र युवाको भविष्य निर्माण गर्न आएका हौँ,’ उहाँले बताउनुभयो।

‘आजको यो प्रवेश विश्वासको अभिव्यक्ति हो, यसले मरिणको समृद्धिको यात्रा थप बलियो बनाउनेछ,’ उहाँको भनाइ थियो।

नवप्रवेशी लालमान लोले आफूहरू विकास र स्पष्ट नीतिको खोजीमा एमाले रोजेको बताउनुभयो। लामो समयसम्म परिवर्तनको आशा गरे पनि व्यवहारमा अपेक्षित परिणाम नदेखिएपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेको उहाँले स्पष्ट पार्नुभयो।

पछिल्ला दिनमा मरिण क्षेत्रमा एमालेको गतिविधि तीव्र बनेको बताइएको छ। गाउँ–टोलमा कार्यक्रम, भेटघाट तथा संगठन विस्तार बढ्दै जाँदा एमालेको उपस्थिति बलियो बन्दै गएको दाबी गरिएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। भालुमाराको यस प्रवेशले मरिण क्षेत्रमा एमालेको संगठनात्मक शक्ति थप सुदृढ भएको स्थानीयको आकलन छ। आगामी निर्वाचनमा यसको प्रभाव कस्तो पर्नेछ भन्ने चासो पनि स्थानीय स्तरमा बढेको छ।