काठमाडौं, फागुन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नेताहरू बाहिरिने क्रम जारी रहेका बेला धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पनि पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं. ५ बाट रास्वपाका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्नुभएका विष्टले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले साधारण सदस्य पदबाट समेत राजीनामा दिनुभएको छ ।
विष्टले आफ्नो राजीनामा पत्रमा पार्टीमा प्रवेश गर्दाको मूल आदर्श युवा राजनीति प्रवर्द्धन गर्ने, जान्ने र सक्षम व्यक्तिलाई अवसर दिने, नातावाद, आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरी प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने प्रतिबद्धताबाट आफू प्रभावित भएको उल्लेख गर्नुभएको छ । तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धतासँग बाझिएको उहाँको भनाइ छ ।
संगठनमा समर्पित नेता तथा कार्यकर्ताको उचित मूल्याङ्कन नहुने, विधि–विधान विपरीत गतिविधि बढ्दै जाने र निर्णय प्रक्रियामा पारदर्शिता घट्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान तथा राजनीतिक मूल्यप्रति प्रश्न उठाएको उहाँले उल्लेख गर्नुभएको छ । यस्तो परिस्थितिमा मौन बस्न नसकिने निष्कर्षसहित पार्टीबाट पूर्ण रूपमा अलग हुने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभएको छ ।
रास्वपाबाट नेताहरू बाहिरिने क्रम पछिल्लो समय तीव्र बन्दै गएको छ । यसअघि केही दिनको बिचमा रास्वपाकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा, नेतृ खेम कुमारी (उर्मिला) भुर्तेल, वाग्मती प्रदेश उपसभापति एवं २०७९ सालमा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दिनेश हुमागाईँ, मधेस प्रदेशका संस्थापक सदस्य पवन चौधरी लगायतले पार्टी छाडेको घोषणा गरिसक्नु भएको छ ।
वैकल्पिक राजनीतिक शक्ति भन्ने नारासहित उदाएको रास्वपाका आन्तरिक असन्तुष्टि बढ्दै जानु, निर्णय प्रक्रियामा केन्द्रीकरणको आरोप लाग्नु तथा संगठनभित्र पारदर्शितामाथि प्रश्न उठ्नु जस्ता कारणले नेतृत्वप्रति दबाब बढिरहेको छ । विष्टको बहिर्गमनसँगै धनगढी क्षेत्रमा रास्वपाको संगठनात्मक संरचनामा असर पर्ने आङ्कलन गरिएको छ । पार्टी नेतृत्वले भने पछिल्ला घटनाक्रमबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।
रास्वपाबाट निरन्तर नेताहरू बाहिरिने क्रमले पार्टीभित्रको आन्तरिक व्यवस्थापन, वैचारिक स्पष्टता र संगठनात्मक एकतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्